काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबमाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण तीव्र बनाएपछि आफूलाई सुरक्षित र स्थिर राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको साउदी अरबको छविमाथि चुनौती थपिएको छ।
यमनको राजधानी सानाबाट भागेर साउदी अरबको रियाद पुगेका अबु खलिल अहिले त्यहाँका सडकमा मोजा बेचिरहेका छन्। उनी यमनमा परिवारको पालनपोषण गर्नसमेत कठिन भएपछि रोजगारीको खोजीमा साउदी पुगेका हुन्। हुथी विद्रोहीको डरका कारण उनले आफ्नो वास्तविक नाम सार्वजनिक गर्न चाहेका छैनन्। उनकी श्रीमती र चार सन्तान अझै सानामै छन्। उनका अनुसार यमनमा हुथी विद्रोहीको नियन्त्रण र बढ्दो द्वन्द्वका कारण सर्वसाधारणको जीवन निकै कठिन बनेको छ। परिवारलाई आफूसँगै ल्याउन नसकेकोमा उनी चिन्तित छन्।
इरानको समर्थन प्राप्त हुथी विद्रोही समूहले एक दशकभन्दा लामो समयदेखि यमनको उत्तरी भूभागको ठूलो हिस्सा नियन्त्रणमा राख्दै आएको छ। उक्त समूह अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारविरुद्ध लडिरहेको छ। यमनी सरकारलाई छिमेकी मुलुक साउदी अरबको समर्थन छ। पछिल्लो समय हुथी विद्रोहीले यमनमा मात्रै नभई साउदी अरबका प्रमुख सहरहरूलाई समेत निशाना बनाउन थालेका छन्। जुलाईमा यमनमा कायम अनौपचारिक युद्धविराम भंग भएपछि आक्रमण थप तीव्र बनेको हो। हुथी समूहले यमनमा साउदी अरबले गरेको हवाई आक्रमण तथा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रका बन्दरगाह र विमानस्थलमा लगाइएको नाकाबन्दीको जवाफस्वरूप आक्रमण गरेको दाबी गर्दै आएको छ।
गत अक्टोबर १० मा रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हुथी आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए। पछिल्ला वर्षमा साउदी भूमिमा भएको यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो। आक्रमणका बेला विमानस्थलमा रहेका २५ वर्षीय इन्जिनियर मजिदले आफूले देखेको दृश्य अझै बिर्सन नसकेको बताएका छन्। साउदी सरकारी तेल कम्पनी अरामकोमा कार्यरत उनी धार्मिक तीर्थयात्राका लागि जेद्दा जाने क्रममा विमानस्थलमा थिए। आक्रमण हुँदा उनले बालबालिकासहितकी एक आमालाई देखेका थिए। त्यसपछि रगतले लतपतिएका व्यक्ति र घाइते यात्रुहरूलाई उपचारका लागि लगिएको दृश्यले आफूलाई स्तब्ध बनाएको उनको भनाइ छ।
उनले आफ्नो देशमा असुरक्षित महसुस गराउने हुथी विद्रोहीको प्रयास सफल हुन नदिने बताएका छन्।
बीबीसीले विश्वभरका राजनीतिक हिंसा र प्रदर्शनसम्बन्धी घटना अभिलेख राख्ने अमेरिकी संस्था ‘आर्म्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्ट’को तथ्यांक विश्लेषण गर्दा जुलाई १ देखि नोभेम्बर २५ सम्मको झन्डै पाँच महिनामा साउदी अरबमाथि २७४ वटा आक्रमण भएको पाइएको छ। तीमध्ये अधिकांश आक्रमणलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारे पनि कम्तीमा ४१ वटा आक्रमण रोक्न नसकिएको तथ्यांकमा उल्लेख छ। केही घटनामा आक्रमण निष्क्रिय पार्ने क्रममा खसेका अवशेषबाट समेत क्षति पुगेको थियो। तथ्यांकअनुसार झन्डै दुई तिहाइ आक्रमणमा ड्रोन र आधाभन्दा बढी घटनामा ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरिएको थियो। यसअघिका पाँच महिनामा भने साउदी अरबमाथि हुथीको एउटा मात्रै आक्रमण अभिलेख गरिएको थियो।
इरानको सहयोगमा हुथी विद्रोहीले आफ्नो सैन्य क्षमता र हतियार प्रणालीलाई थप आधुनिक बनाउँदै लगेका छन्। यसले उनीहरूलाई यमनको सीमाभन्दा धेरै टाढासम्म आक्रमण गर्न सक्षम बनाएको छ। पहिले हुथीका आक्रमण मुख्यतः यमनसँग जोडिएको साउदी सीमावर्ती क्षेत्रमा केन्द्रित हुन्थे। रियादमा भने तुलनात्मक रूपमा कम आक्रमण हुन्थ्यो। तर अनौपचारिक युद्धविराम अन्त्य भएपछि यमनको सीमाबाट सात सय किलोमिटरभन्दा बढी टाढा रहेको साउदी राजधानीसमेत नियमित निशानामा पर्न थालेको छ। विमानस्थलसँगै राजधानीका तेल प्रशोधन तथा उत्पादन केन्द्र, आर्थिक संरचना र अग्ला भवनहरू पनि आक्रमणको जोखिममा छन्। साउदी अरबले आफ्ना सहरलाई आधुनिक बनाउँदै अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने र सुरक्षित बसोबास तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ। तर पछिल्ला आक्रमणले उसको यही छविमाथि प्रश्न उठाएका छन्।
यसै महिनामा रियादको वित्तीय क्षेत्रमा रहेका दुईवटा चर्चित अग्ला भवनसमेत आक्रमणको निशानामा परेका छन्। साउदी अरबकै सबैभन्दा अग्लो भवन तथा सार्वजनिक लगानी कोषको मुख्यालय रहेको पीआईएफ टावरमा नोभेम्बर १९ मा भएको आक्रमणमा ११ जना घाइते भएका थिए। सरकारी तेल कम्पनी अरामकोको भवनसमेत प्रभावित भएको थियो। आक्रमणपछि अरामको भवनको बाहिरी भाग केही दिनमै मर्मत गरिएको थियो। भवनमा देखिएको क्षति हटाएर सामान्य अवस्था फर्काइएको घटनालाई साउदी अरबले देशमा स्थिरता र नियमित जनजीवन कायम रहेको सन्देश दिन खोजेको रूपमा पनि हेरिएको छ। साउदी सरकारले नागरिक तथा आर्थिक संरचनालाई लक्षित गरी भएका आक्रमणको निन्दा गर्दै आफ्नो सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने जनाएको छ। तर आक्रमणका कारण रियाद जाने हवाई उडानहरू प्रभावित भएका छन्। मदिना र पूर्वी सहर दमामको विमानस्थलसमेत निशानामा परेपछि यात्रुहरूलाई वैकल्पिक विमानस्थल हुँदै स्थलमार्गबाट गन्तव्यसम्म पुर्याउनुपर्ने अवस्था आएको छ।
यद्यपि रियादका सडक र बजारमा भने जनजीवन सामान्य देखिन्छ। रेस्टुरेन्टहरूमा भीडभाड छ, किनमेल केन्द्रमा परिवारहरू घुमिरहेका छन् र बजारमा व्यापार व्यवसाय नियमित रूपमा सञ्चालन भइरहेका छन्।तर द्वन्द्वबारे खुलेर कुरा गर्न स्थानीयहरूलाई सहज छैन। साउदी अरबमा अभिव्यक्ति स्वतन्त्रतामाथि कडा प्रतिबन्ध र सेन्सरसिपका कारण धेरै मानिस सञ्चारमाध्यमसँग बोल्न हिचकिचाउने गरेका छन्। केही स्थानीयले भने आफ्नो देशको सुरक्षा संयन्त्रमाथि विश्वास व्यक्त गरेका छन्। बजारमा भेटिएका बद्रले विमानस्थलमा भएको आक्रमणले आफूहरू चिन्तित भए पनि जीवन छिट्टै सामान्य अवस्थामा फर्किएको बताए। अर्का स्थानीय राशिदले बजारमा किनबेच र दैनिक गतिविधि नियमित रूपमा चलिरहेको बताएका छन्।
तर सामान्य देखिएको जनजीवनबीच मोबाइल फोनमा अचानक आक्रमणको चेतावनी आउँदा र आकाशमा क्षेप्यास्त्र तथा ड्रोन रोक्ने क्रममा ठूलो आवाज सुनिँदा सर्वसाधारण त्रसित हुने गरेका छन्। समेत एक बिहान करिब ४ बजे हवाई प्रतिरक्षा प्रणालीले आक्रमण रोक्दा भएको ठूलो आवाज अनुभव गरेका थिए। सबै आक्रमण रोक्न नसकिएको तथ्यले स्थानीयमा थप डर पैदा गरेको छ। सन् २००६ देखि पटकपटक साउदी अरबमा बस्दै आएका बेलायती नागरिक एलेक्स मालुफले पनि आक्रमण र सुरक्षा चेतावनीले बालबालिकामा मानसिक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उनकी ११ वर्षीया छोरीले विद्यालयमै सुरक्षा चेतावनीको अनुभव गरेकी छन्। कहिलेकाहीँ आफू डराएको भन्दै छोरीले बताउने गरेको उनको भनाइ छ।
उता यमनमा भने द्वन्द्व झन् चर्किंदै गएको छ। हुथी विद्रोहीले पश्चिमी यमनमा आफ्नो सैन्य अभियान तीव्र बनाउँदै लालसागरको तटीय क्षेत्रमा थप भूभाग कब्जा गरेका छन्। उनीहरूले यमनी सरकारको अस्थायी केन्द्र रहेको दक्षिणी सहर अदनतर्फ जाने रणनीतिक मार्गलाई समेत चुनौती दिएका छन्। सरकारको नियन्त्रणमा रहेको ताइज सहर वरपर पनि लामो समयदेखि जारी घेराबन्दी र द्वन्द्व थप गम्भीर बनेको छ। हुथीको पछिल्लो घेराबन्दीका कारण अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित हुँदा संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार आठ लाखभन्दा बढी मानिस मानवीय सहायता पाउनबाट वञ्चित भएका छन्। बजारमा उपलब्ध खाद्यान्न र इन्धनको मूल्यसमेत तीव्र रूपमा बढेको छ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार गत अगस्टयता यमनमा तीन लाख ६० हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्। संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले यही अवधिमा ३२३ जना सर्वसाधारण हताहत भएको पुष्टि गरेको छ। तीमध्ये ७६ जनाको मृत्यु भएको र मृतकमध्ये आधा बालबालिका रहेको उल्लेख छ। हुथी विद्रोहीको विस्तार र साउदी अरबमाथिका आक्रमणको जवाफमा साउदी नेतृत्वको अरब गठबन्धनले यमनमा हवाई आक्रमण तीव्र बनाएको छ। यसले सर्वसाधारणको जोखिम थप बढाएको छ। हुथी अधिकारीहरूका अनुसार यसै महिनाको सुरुवातमा सानामा भएको एउटा हवाई आक्रमणमा ४४ जनाको मृत्यु भएको थियो। साउदी अरबले भने यमनी नागरिक र अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाका लागि सैन्य कारबाही गरिएको दाबी गर्दै आएको छ।
यसअघि पनि साउदी नेतृत्वको गठबन्धनले यमनमा गरेको हवाई आक्रमणमा हजारौँ सर्वसाधारणको ज्यान गएको थियो। घर, अस्पताल र विद्यालयजस्ता संरचनामा ठूलो क्षति पुगेको थियो। अर्कोतर्फ हुथी विद्रोहीले पनि सरकारी नियन्त्रणमा रहेका क्षेत्रमा गोलाबारी, क्षेप्यास्त्र र स्थल आक्रमण गर्नुका साथै आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा दमन गरेको आरोप खेप्दै आएका छन्। यमनबाट भागेर रियाद पुगेका अबु खलिल भने आफ्नी श्रीमती र चार सन्तानलाई पनि सुरक्षित रूपमा साउदी अरब ल्याउने आशामा छन्। हुथी विद्रोहीको नियन्त्रण अन्त्य नभएसम्म आफू यमन नफर्किने उनको भनाइ छ।