काठमाडौं। स्नातक र स्नातकोत्तर (ब्याचलर र मास्टर्स) अध्ययनका लागि अष्ट्रेलिया जान निवेदन दिने नेपाली विद्यार्थीहरुको भिसा बढी लाग्ने गरेको पाइएको छ।
तर, डिप्लोमा अर्थात व्यावसायिक शिक्षा तथा प्रशिक्षण (भीईटी) का लागि अष्ट्रेलिया जान निवेदन दिनेको भिसा कम लाग्ने गरेको पाइएको छ।
अष्ट्रेलिया सरकारको गृह विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार ब्याचलर र मास्टर्स अध्ययनका लागि अष्ट्रेलिया जान निवेदन दिने नेपाली विद्यार्थीहरुको भिसा ९७ देखि ९८ प्रतिशतसम्म लागेको देखिन्छ। तर, शिक्षा तथा प्रशिक्षणका लागि अष्ट्रेलिया जान आवेदन दिनेहरुको भिसा लाग्ने दर २० प्रतिशतले घटेको छ।
ब्याचलर र मास्टर्स पढ्न जानेको भिसा सक्सेट रेट उस्तै
सार्वजनिक तथ्याङकअनुसार सन् २०२२ को अप्रिलमा शिक्षा तथा प्रशिक्षणका लागि अष्ट्रेलिया जान आवेदन दिएकामध्ये ८६.६ प्रतिशतको भिसा आएको थियो। तर, एक महिनामै २० प्रतिशतले घट्दै मे महिनामा ६६.६ प्रतिशतले मात्रै भिसा पाएका छन्।
तर, ब्याचलर र मास्टर्स अध्ययनका लागि आवेदन दिनेमध्ये अप्रिलमा ९८ र मे महिनामा ९७.२ प्रतिशतले भिसा पाएका छन्।
तर, शिक्षा तथा प्रशिक्षणका लागि अप्रिलमा २५५२ जनाले आवदेन दिएकोमा ११९२ र मेमा २६३७ ले आवेदन दिएकोमा ८५५ जनाले मात्रै भिसा पाएका छन्।