बिहीबार राति एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको फोनबारे प्रचण्डको सचिवालयले स्पष्टीकारण दिएको छ ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत प्रचण्डले ओलीलाई गरेको फोनबाट स्पष्टीकारण दिएका छन् ।
मल्लका अनुसार प्रचण्डले ओलीलाई भनेका थिए, ‘एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं ।’
तर, अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापुर्वक नलिएर गैरजिम्मेवार जवाफ फर्काएको प्रचण्डको सचिवालयले आरोप लगाएको छ ।
मल्लले ओलीले दिएको जवाफबारे भनेका छन्, ‘अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापुर्वक लिनु भएन । उहाँले बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस् । तर गैर संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो । यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन ।’
एमाले नेता विष्णु रिमालका अनुसार प्रचण्डले एमसीसीबारे निर्णय लिन आग्रह गर्दा ओलीले एमसीसीबारे सत्ता गठनबन्धनले पहिलो निर्णय लिनुपर्ने जवाफ दिएका थिए ।
राजनीति तरंगित
पछिल्लो समय अमेरिकाले एमसीसी छिटो पास गर्न नेतालाई दबाब दिएसँग नेपाली राजनीति तरंगित भएको छ ।
बिहीबार मात्रै अमेरिकी सहायकमन्त्री लुले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पालैपालो फोन गरेर एमसीसी छिटो पास गर्न भन्दै चेतावनी दिएका थिए ।
यसअघि एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रचण्ड–ओलीले बालुवाटारमा छलफल गरेका थिए ।
सत्तारुढ दल कांग्रेस एमसीसी सिँधै पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी, नेकपा एस, जनमोर्चा संशोधनबिना पास गर्न नहुने पक्षमा छन् । जसपा एमसीसीबारे विभाजित छ ।
साथै, यसअघि प्रधानमन्त्री हुँदा एमसीसी पास गर्न निकै जोडबल लगाएका एमाले अध्यक्ष ओली अहिले तटस्थ बसेका छन् । उनीे सत्ता गठनबन्धनको धारण आएपछि मात्रै एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्ने बताइरहेका छन् ।