फ्रेन्च लिग वानको उपाधिका लागि २ टोलीबीच कडा प्रतिस्पर्धा देखिएको छ। सिजनको शुरुदेखि नै अंकतालिकामा तलमाथि भइरहेका २ टोली सिजनको अन्त्यसम्म आइपुग्दा पनि त्यही अवस्थामा छन्। लिल ओलम्पिक स्पोटिर्ङ क्लब र पेरिस सेन्ट जर्मन (पिएसजी)बीच उपाधिका लागि कडा टक्कर देखिएको हो।
हाल लिल ८० अंकका साथ शीर्षस्थानमा रहँदा पिएसजी ७९ अंकका साथ दोस्रो स्थानमा छ। लिगमा दुबै टोलीले एक–एक खेल खेल्न बाँकी छ। दुई टोलीको ती दुई खेलले जारी सिजनको फ्रेन्च च्याम्पियन निर्धारण गर्नेछ।
अन्तिम खेलमा लिलले एंगर्सको सामना गर्दैछ भने पिएसजीले ब्रेस्टसँग खेल्दैछ। खेल नेपाली समयअनुसार आइतबार राति १२ः४५ बजे शुरु हुनेछ। दुबै खेलहरु एकै समयमा हुनेछन्। उक्त खेलमा लिल विजयी भएमा च्याम्पियन बन्नेछ। यदि लिलले बराबरी खेलेमा वा हार बेहोरेमा र पिएजसीले जित निकालेमा पिएसजी च्याम्पियन बन्नेछ।
पिएसजीले उपाधि जित्नका लागि आफूले जित निकाल्नु आवश्यक छ नै, त्यसबाहेक लिल र एंगर्सबीचको नजितामा पनि भर पर्नुपर्ने हुन्छ। लिल र एंगर्सबीच हालसम्म ११ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये ३ खेलमा मात्र लिल विजयी भएको छ भने एंगर्स ६ खेलमा विजयी भएको छ।
दुई टोलीबीचको २ खेल बराबरीमा सकिएको छ। जारी सिजनको खेलमा पनि लिल एंगर्ससँग २–१ गोलले पराजित भएको थियो। खेलहरुको नजिता हेर्दा लिललाई १२ औं स्थानमा रहेको एंगर्सविरुद्ध जित निकाल्न कठिन देखिन्छ।
पिएससी र ब्रेस्टबीच १० खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये ९ खेलमा पिएसजीले जित निकालेको छ। एक खेल बराबरीमा सकिएको छ। ब्रेस्टविरुद्ध पिएसजीले हाबी भएकाले अबको खेलमा पनि पिएसजीले जित निकाल्ने सम्भावना बलियो छ।
तर, लिललाई एंगर्सविरुद्ध जित निकाल्न केही कठिन हुनेछ। एंगर्सले लिललाई बराबरीमा रोकिदियो वा हरायो र पिएसजीले ब्रेस्टलाई हरायो भने पिएजसी च्याम्पियन बन्नेछ। यदि लिल पराजित भएमा र पिएसजीले बराबरी खेलेमा दुबै टोलीको अंक समान हुनेछ। तर, गोल डिफ्रेन्समा अघि रहेका कारण पिएसजी चयाम्पियन बन्नेछ।