काठमाडौँको नागार्जुन नगरपालिका–९ स्युचाटारमा खुला व्यायामशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सहयोगमा तारकेश्वर युवा क्लबले निर्माण गरेको उक्त व्यायामशालाको आज नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरे ।
सो अवसरमा नेता सिंहले अहिलेको कोरोना महामारीको समयमा सामुदायिक उद्यान आवश्यक रहेको बताए । उक्त व्यायामशाला झन्डै ११ रोपनी क्षेत्रफलमा फैलिएको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई समेट्ने गरी खुला उद्यान निर्माण गरिएको जानकारी दिँदै तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले नगरवासीलाई स्वस्थ राख्न खुला व्यायामशालाको अवधारणा अघि बढाइएको बताए ।
उद्यानभित्र खुला व्यायामशाला, बालोद्यान, बहुउद्देशीय कभर्ड हल, सेभेन ए साइड फुटबल मैदानलगायत पूर्वाधार निर्माण गरिएको छ । व्यायाम गर्नका लागि १६ उपकरण जडान गरिएको छ । उक्त उद्यानमा सबै उमेर समूहका व्यक्तिले जुनसुकै समयमा पनि व्यायाम गर्न सक्ने सुविधा छ । अत्याधुनिक उपकरणसहितको उद्यान देशकै पहिलो भएको नगर प्रमुख मोहनबहादुर बस्नेतले जिकिर गरे । उद्यान स्थापनाको अभियान नगरका १० वटै वडामा विस्तार गरिने जनाइएको छ ।