मकवानपुर– मकवानपुरको चुरीयामाई–९ की ३० वर्षीया सीता लोप्चनले ५ किलोग्रामको बच्चा जन्माएकी छिन् । सोमबार बिहान ९ बजे चितवन मेडिकल कलेज भरतपुरमा उनले ५ किलोग्रामकी छोरी जन्माएकी हुन् ।
आमा १ सय १२ किलो पुगेको कारण शल्यक्रियामा समस्या आउनसक्ने हुँदा हेटौंडा अस्पतालले चितवन रेफर गरेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिएका छन् ।
सामान्यतया बच्चाको तौल दुई किलो ५ सय ग्रामदेखि ३ किलो ५ सय ग्रामसम्म हुने र ४ किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले बताए ।
अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए । लोप्चनको डा. बन्दना खनाल, डा. प्रेक्षा सिंह, डा. वसन्त शर्मा, डा. इन्द्रनारायण श्रेष्ठ, डा. मेनुका ताम्राकारको चिकित्सिक समूहले शल्यक्रिया गरेर बच्चा निकालेको हो ।