काठमाडौं । सरकारको कामलाई लिएर चौतर्फी प्रश्न उठिरहेका बेला पूर्वअर्थमन्त्री रामेश्वर खनालले भने वर्तमान सरकारको बचाउ गरेका छन्। उनले अघिल्लो सरकारले छाडेको अवस्थाको तुलनामा अहिले प्रशासनिक सुधार, सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रगति भएको दाबी गरेका छन्।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँग कुरा गर्दै खनालले बाह्य तथा प्राकृतिक कारणलाई अलग राखेर हेर्दा सरकारको कार्यसम्पादन पहिलेभन्दा कमजोर नभएको बताए। बजारमा देखिएको महँगी, पेट्रोलियम पदार्थ र एलपी ग्यासको संकटलाई उनले सरकारको मात्रै कमजोरीका रूपमा बुझ्न नहुने तर्क गरे।
अन्तर्राष्ट्रिय तनावका कारण पेट्रोलियम आपूर्तिमा समस्या आएको र त्यसको असर नेपालसम्म परेको उनको भनाइ छ। प्राकृतिक विपद्का विषयमा पनि खनालले सरकारमाथि भइरहेको आलोचनाप्रति असहमति जनाए। रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा भएको ठूलो क्षति कुनै पनि सरकारका लागि चुनौतीपूर्ण हुने भन्दै उनले राहत र पुनर्स्थापनामा सरकारले गरिरहेको प्रयासलाई ‘केही पनि भएन’ भन्न नमिल्ने बताए।