टोकियो– अधिकांश एसियाली सेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ । अमेरिका र चीनबीचको व्यापार तनावका साथै कोरोनाका कारण सिर्जित आर्थिक मन्दीले सेयर बजारमा असर परेको हो ।
एसियाली सेयर बजारमा कोरोना संक्रमण बढेसँगै थप असर परेको देखिएको छ । खासगरी दक्षिणपूर्वी एसियाली मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप चिन्ता बढेको हो ।
सिंगापुरको मिजुहो बैंकका हायाकी नारिताले लकडाउन खुकुलो बनाएसँगै अर्थतन्त्र पुनरुत्थान हुने अपेक्षा गरिए पनि कोरोना संक्रमणको दोस्रो लहर सुरु हुने खतरा रहेको बताए । उनले चीन–अमेरिका व्यापार तनाबले समस्या अझ बढाएको बताए ।
जापानको सेयर बजार निक्की ०.६ प्रतिशतले घटेर २२ हजार २७३ बिन्दुमा पुगेको छ भने अस्ट्रेलियाको एसएन्डपी ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.२ प्रतिशत, हङकङको हाङसेङ १.८ प्रतिशत तथा चीनको साङ्घाई कम्पोजिट १.२ प्रतिशतले घटेका छन् ।
टोयोटा मोटर कर्पको सेयर भने बिहानीपख २ प्रतिशतले बढेको छ भने निन्टेन्डो कम्पनीको सेयर पनि २.३ प्रतिशतले सुधार भएको छ । जापानी भिडियो–गेम निर्माता निन्टेन्डोको नाफा बढेसँगै सेयर मूल्य बढेको हो ।