काठमाडौं ।भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउन इनड्राइभले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे ७ करोड रुपैयाँ प्रदान गरेको छ।
इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा उक्त रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।गत भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र नजिकै हिम तथा चट्टानी पहिरोपछि आएको भोटेकोशी बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण मानवीय क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ।बाढी प्रभावित क्षेत्रमा अझै खोज, उद्धार र राहतका काम जारी छन् भने बेपत्ता भएकाहरूको खोजी पनि भइरहेको छ।इनड्राइभले सरकारी कोषमा आर्थिक सहयोग गर्नुका साथै प्रभावित समुदायमा प्रत्यक्ष राहतसमेत वितरण गरेको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका–९ का प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट र स्यानिटरी प्याडलगायत आवश्यक सामग्री उपलब्ध गराइएको छ।कम्पनीले तत्काल आवश्यक सामग्रीमार्फत प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले प्रत्यक्ष राहत कार्यक्रम सञ्चालन गरेको जनाएको छ।