मनाङ– सिजनमा मनाङ लगायतका हिमाली जिल्लाका बासिन्दाले यार्सागुम्बा संकलन गरेर राम्रै आयआर्जन गर्थे । यहाँको मूख्य आम्दानीको स्रोत नै यही थियो । तर, महँगो बहुउपयोगी हिमाली औषधीय जडीबुटी यार्सागुम्बा टिप्ने याममा कोरोना महामारी सुरु भयो । नेपाल सरकारले देशभर लकडाउन घोषणा गर्यो ।
जिल्ला प्रशासन कार्यालय मनाङले कोभिड–१९ संक्रमणको त्रासले यार्सागुम्बा संकलनमा रोक लगायो । अहिले यार्सागुम्बा लगायतका जङ्गली जडीबुटी जङ्गल र पाटनमै कुहिन थालेका छन् । जङ्गली जडीबुटी कुहिन थालेपछि करोडौँ रकम खेर गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
यार्सागुम्बा सङ्कलनमा जाँदा भीडभाड हुने र जिल्ला बाहिरबाट पनि यार्सा सङ्कलनमा मानिसहरु आउने हुँदा संकलनमा रोक लगाएको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताएका छन् । यार्सागुम्बा टिप्ने याममा बन्द भएपछि जिल्लाबासीले निक्कै नोक्सानी बेहोर्न परेको उनको भनाई छ ।
यार्सागुम्बा सङ्कलनका लागि मनाङलगायत गोरखा, लमजुङ, रुकुम, रोल्पा, डोल्पा, धादिङ लगायतका जिल्लाबाट मानिसहरु जाने गर्थे । बैशाख दोस्रो सातादेखि जेठसम्मको समयलाई यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समय मानिन्छ ।