गत चैत १९ गते लकडाउन समयमा गाउँमा पाल्न असहज भएपछि शहर नजीकै झारेका यहाँका एक कृषकले धमाधम भैँसी बिक्री गर्न थालेको छ। व्यास नगरपालिका–१३ गुदीका ३८ वर्षीय ईश्वरराज पन्थले गुदी गाउँबाट दमौली बजार नजीक व्यास–४ सिमलटारमा भैँसी झारी पाल्दैआएको थियो। लकडाउनसँगै आफ्नो फर्ममा रहेका २२ मुर्रा भैँसीमध्ये दश पाडा र चार माउ बिक्री गरिसकेको कृषक पन्थले जानकारी दिएका छन्। अब फर्ममा आठ भैँसी छन्।
उनले भने, ‘दूध दिन छाडेपछि ती भैँसीलाई महँगो पराल, चोकर खुवाएर पाल्नुभन्दा बिक्री गर्न उचित ठानेर भटाभट बिक्री गर्न थालेको हुँ।’ गुदी सदरमुकाम दमौलीदेखि करीब आठ किलोमिटर दूरीमा पर्छ। लकडाउनका कारण परालचोकर ढुवानी गर्न असहज र दूध बिक्री गर्नसमेत कठिनाइ हुने भएपछि उनले दमौली बजार नजीकै आफन्तका फर्ममा भैँसी झारेर पाल्दैआएको थियो। अहिले दुुहुना भैँसीले दूध दिन छाडिसकेका छन्।
गाउँफर्क कृषि तथा पशु फर्मका सञ्चालक उनले भने, ‘भारतबाट आएर मानिसहरु दूध दिन शुरु गरेको भैँसी ल्याइदिएर दूध दिन छाडेका भैँसी आधा मूल्यमा लैजाने गर्थे तर नाका नै बन्द भएपछि अहिले थारा भैँसी पालेर बस्नुभन्दा गाउँघरमै सस्तो मूल्यमा दिने गरेको छु।’ लकडाउन खुलेपछि पुनः गाउँमै पाल्न शुरु गर्ने योजना बनाइएको उनले बताएका छन्। लामो समय शिक्षण पेशामा लागेका पन्थले विसं २०७६ भदौदेखि भैँसीपालन व्यवसाय थालेको थियो ।
फर्म सञ्चालनका क्रममा पन्थले हालसम्म भौतिक संरचना निर्माणसहित रु एक करोड दश लाख लगानी गरिसकेको छ। कूल पाँच सय रोपनी क्षेत्रफलमा उनले भैँसीपालनका साथै उन्नत बाख्रा, फलफूल खेती र घाँस खेती पनि गरेको। स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफू यस क्षेत्रमा लागे पनि पहिलो गाँसमै ढुङ्गा लागेको अनुभव उनले गरेको छ। (रासस)