एजेन्सी — कप्तान लियोनल मेसीबिना नै अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरमाथि फराकिलो जित हासिल गरेको छ।
आइतबार राति भएको खेलमा अर्जेनटिनाले इक्वेडरलाई ६–१ गोलले हरायो। कोपा अमेरिका कपमा आयोजक र रेफ्रीको निर्णयमाथि गम्भीर प्रश्न उठाएका मेसी अहिले प्रतिबन्धको कारबाहीमा छन्। एकपक्षीय खेलमा अर्जेन्टिनाले दुवै हाफमा तीन तीन गोल गरेको थियो।
२०औं मिनेटमा लुकास अलारियोको गोलमा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो। इक्वेडरका जोन एस्पिनोजाले २७औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनायो। ३२औं मिनेटमा लियन्ड्रो डानियल पारेडेसले पेनाल्टी मार्फत तेस्रो गोल गरे।
दोस्रो हाफको सुरुआतमा इक्वेडरले एक गोल फर्कायो। ४९औँ मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरको आशा जगाए। त्यसपछि लगातार गोलको अवसर बनाएको अर्जे्न्टिनाका लागि ६६औं मिनेटमा जर्मन पेजेलाले गोल गरे। ८२औं मिनेटमा निकोलस डोमिनग्विज र ८६औं मिनेटमा लुकास ओकाम्पोसले गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाए।
यसैगरी आइतबार राति नै भएको मैत्रीपूर्ण खेलमा ब्राजिल र नाइजेरियाले १(१ गोलको बराबरी खेलेका छन्। चर्चित खेलाडी नेमार घाइते भएको खेलमा नाइजेरियाले सुरुआती अग्रता लिएको थियो।
नेमार खेलको १२औं मिनेटमै तिघ्राको चोक बोक्दै मैदानबाट बाहिरिएका थिए। नेमारले लामो समयदेखि चोट बोक्दै आएका छन्। नाइजेरियाका लागि जोय अरिबोले ३५औं मिनेटमा गोल गरेका थिए।
४८औं मिनेटमा ब्राजिलका कासेमिरोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो। पछिल्लो एक सातामा ब्राजिलको यो दोस्रो बराबरी हो। गत बिहीबार मात्र ब्राजिल सेनेगलसँग पनि १(१ गोलको बराबरीमा रोकिएको थियो।