काठमाडौं ।सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट एक वृद्धको मृत्यु भएको छ।
घटनामा ६२ वर्षीय मानबहादुर राजीको ज्यान गएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सोही स्थानका ४० वर्षीय टेकबहादुर विकले मंगलबार राति करिब ११ बजे राजीको टाउको र बायाँ खुट्टामा चिर्पट प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका राजीलाई उपचारका लागि सुरुमा प्रदेश अस्पताल लगिएको थियो।त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिएका छन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले टेकबहादुर विकलाई पक्राउ गरेको छ। घटनाको कारण तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।