कालिकोट ९ माघ – कालिकोटको रास्कोट नगरपालिका आफुले नगरेको कामको कोटेशनमार्फत १० लाख बिलभुक्तानी गरेको पाइएको छ। सुपर सत्य निर्माण सेवा (जेवी) ले गत जेठमा ट्रयाक खोलेको सडकका निम्ति नगरपालिकाले बर्शना निर्माण सेवालाई ठेक्का दिएको देखाएर १० लाख रुपैयाँ भुक्तानी गरेको पाइएको छ।
नेपाल तरुण दल कालिकोट जिल्लाका सदस्य एवम् रास्कोट नगर इन्चार्ज सुरेश शाहीले उक्त विल भुक्तानिका सम्बन्धमा छानवीन गर्न माग गरेका छन्।
नेपाली पब्लिकसँगको कुराकानीमा इन्चार्ज शाहीले भने, ‘सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नपाबीचको ६ सय ५० मिट सडकखण्ड सुपर सत्य निमार्ण सेवा (जेवी)ले अनेक चुनौती सामाना गर्दै यस अघि नै ट्रयाक खोलेको थियो। तर, ट्रयाक खोलिसकेको सडकखण्डको पुनः ट्रयाक खोल्ने नाममा रास्कोट नगरका मेयर काशीचन्द्र बरालले कोटेशनमार्फत १० लाख रुपैयाँ भुक्तानी गरेका छन्।’
शाहीले यस सम्बन्धमा अगाडि भने, ‘यो नगरपालिकाले गरेको खुल्लमखुल्ला भष्ट्राचार हो। त्यतिबेला आफ्नो नगरबाहेक अर्को गाउँपालिकामा सडक सञ्जाल जोड्नबाट रोक्ने मनसायले मेयर बरालले नगरको अन्तिम सीमानासम्म सडकको ट्रयाक खोल्नु भएन, मैले ठूलो व्यवधानका बीच रानपा वडा नम्बर एकको न्यौपाने वडादेखि सान्नी त्रिवेणीको वडा–७ तुसार खोलासम्मको ६ सय ५० मिटर ट्रयाक खोलेको हुँ, आज त्यही सडक खण्ड आफूले खनेको भनेर मेयरले अर्कै निमार्ण कम्पनीलाई रकम कसरी दिए?’
तेलको खर्च व्यहोर्न समेत इन्कार
त्यतिबेला सहयोग गर्नुहोस्, तपाईको नगर हो, अर्को गाउँपालिकाको लागि पनि सहयोग हुन्छ भन्दा मेयर बरालले मान्नु भएन, तेलको मात्रै खर्च ब्यहोर्नुहोस् भन्दा पनि इन्कार गर्नुभयो, आज आएर अर्को निमार्ण कम्पनीलाई कोटेशनमार्फत कागजात मिलाएर खनिसकेको सडकका निम्ति किन र केका लागि रकम दिनु भयो? यस सम्बन्धमा अख्तियार अनुसन्धान आयोगले यथाशीघ्र छानविन गरोस् भन्ने तरुणदल कालिकोटको माग छ,’ उनले भने। 
तरुण दलका जिल्ला सदस्य शाहीले गत जेठ २६ गते आफैले सडकको ट्रयाक खोलेर त्यहाँबाट सान्नी त्रिवेणी गाउँपालिकासम्म गाडीसमेत गुडाएको दावी गरेका छन्।
उनले भने, ‘रानपा वडा नम्बर १ का अध्यक्ष सन्तोष सञ्ज्याल र सान्नी त्रिवेणी गापा वडा नम्बर ७ का अध्यक्ष मणिराम सिंखडाको उपस्थितिमा त्यो सडकमा मोटर गुडाउनका निम्ति उद्घाटन गरिएको थियो, त्यसको स्तरोन्नति गरिएको हो भने कालोपत्र वा ग्रावेल गरिएको हुनुपर्यो, खोलि सकिएको सडक ट्रयाकमा नगरको डोजरले अलिअलि भत्केको मिलाएर पैसा अपचलन गर्ने काम सरासर भ्रष्टचार हो।’
शाहीले रानपाका मेयर बराल र उप–मेयरले आफुलाई उक्त सडकका सम्बन्धमा तल्लो स्तरको घटिया आरोप समेत लगाएको बताए । उनले भने, ‘रेडियो नेपाली आवाजका पत्रकारसँगको कुराकानिमा उप–मेयरले कुखुराले खोस्रेको जस्तो मात्रै छ, भनेर भन्नुभयो, बलेरो जिप र २५ वटा मोटरसाइकल पुर्याएको बाटोलाई कुखुराले खोसे्रको भन्ने आँट उप–मेयरले कसरी गरिन ? यहि १० लाख रुपैयाँ दुरपयोग गर्नको लागि रहेछ भन्ने अहिले खुलेको छ ।’
उनले भने,‘मैले ट्रयाक खोलेको यो बाटो उद्घाटन गर्न आउनुहोस् भन्दापनि मेयर साब आइदिनु भएन, त्यो सडक खोल्दा रानपा वडा नम्बर १ को तामाकोटमा पर्ने दुईवटा सिचाई कुलो भत्किए, मैले ६० हजार खर्च गरेर ती दुई कुलो निमार्ण गरिदिनु परेको थियो, जन प्रतिनिधिको आवरणमा स्थानीय तहमा अहिले ब्रहम लुट मच्चाइएको छ।’ मेयर भन्छन्, ‘त्यो सडक हामीले खोलेका हौं।’
राष्कोट नगरपालिका मेयर काशिचन्द्र बरालले उक्त सडक निमार्ण आफुले गरेको दाबि गरेका छन् । उनले भने,‘सान्नि त्रिवेणी गापासम्म सडक सञ्जाल जोड्नको लागि उहाँहरुले पहिला ट्रयाक खोल्नु भएको साँचो हो, तर बाटोको उपयुक्त आकार र त्यसको मर्मत सम्भार गर्नुपर्ने दायित्व नगरको हो ।’
कोटेशन मार्फत १० लाख रुपैयाँ बर्शना निमार्ण सेवालाई दिनु भयो रे नि? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘यो सब हल्ला हो, त्यो बाटो खोल्दा पनि उहाँहरुले धम्कीपूर्ण तरिका अपनाउनु भयो । त्यो सडक खण्ड छ सय ५० मिटर नभएर करिब ४ सय मिटर मात्रै छ, त्यो भन्दा बढि छैन्, यसको बारेमा यहाँ भन्दा बढि म बोल्न पनि चाहन्न।’