विष्णु नेपाल, बैतडी -‘धक्का पाउन्या हम, सुख पाउन उन। धक्या नपाउन्या गोली हाल्न आया हुन।’ मेलौली नगरपालिका–५ का २३ वर्षीया हासा सार्की, २० वर्षीया हरिना सार्की र २२ वर्षीया लक्ष्मी सार्की एकै स्वरमा लजाउँदै भन्छन्। उनीहरूले लगाएको कुर्ता पसिनाले निर्थुक्क भिजेको देखिन्थ्यो।
“करिब २ घन्टाकाे उकालो र १ घन्टाकाे तरपए–तरपए बाटो हिँडेर महारुद्र स्वास्थ्य चौकी आएका हौँ,” स्वाँस्वाँ गर्दै उनीहरूले भने। कार्यालय सहायक कमला दमाईं उनीहरूलाई देख्नेबित्तिकै औधी रमाइन्।
“गहुँ थन्क्याउन लागेका थियौँ आउन अलि ढिलो भो,” उनीहरू भन्दै थिए। गाउँमा १ दशक महिला स्वयंसेविकाका रूपमा सेवा गरेकी सहायक दमाईंले तीनै जनालाई जस्ताको टिनले छाएको मक्किसकेको स्वास्थ्य चौकीको पुरानो भवनमा रहेको प्रसूति सेवा तथा परामर्श कोठामा लिएर गइन्।
परिवार नियोजन सेवाका लागि ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’का कलावती चौधरी, माधवी भट्ट र अस्मिता बोहरा कोठामा थिए। उनीहरूले परिवार योजनाको महत्त्व, पुरुष तथा महिलाका परिवार नियोजनको अस्थायी एवं स्थायी विधि, जन्मान्तरले महिलाको स्वास्थ्य तथा समग्र जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा करिब १ घन्टा परामर्श दिए।
३ छोरा र १ छोरीकी आमा हासा, १ छोरा र १ छोरीकी आमा हरिना र २ छोरीकी आमा लक्ष्मी परिवार नियोजनको सेवा लिन तयार देखिए। किन सबैले इम्प्लान्ट नै रोजेकाे भन्ने प्रश्नमा उनीहरूले एकै स्वरमा भने, “धक्का पाउन्या हम, सुख पाउन उन। धक्या नपाउन्या गोली हालेका हाैँ। डर लागिरहेको थियो। केही भएन।”
पाखुराको भित्री भागमा राख्ने परिवार नियोजनको पाँचवर्षे अस्थायी साधन (लचिलो रड)लाई यहाँका महिलाले गोली राख्ने भन्दछन्।
यो वडा नगरपालिका तथा जिल्लाभित्रको दुर्गम वडाभित्र पर्छ। यहाँका अधिकांश पुरुष रोजगारीका लागि भारत जाने गर्छन्। गाउँमा महिला, बालबालिका तथा वृद्धवृद्धा मात्र देख्न सकिन्छ। खेती लगाउने, थन्क्याउने तथा चाडपर्वमा मात्र पुरुष घरमा रहने गर्छन्। यहाँ गहुँ, मकै, धानजस्ता अन्नपात उब्जनीले मुश्किलले ४ महिना मात्र जीविकोपार्जन हुन्छ।
“मैले ८ सन्तानको जन्म दिएँ। अहिले ३ छोरी र २ छोरा रहेका छन्। ३ सन्तान अकालमै मरे। स्थायी बन्ध्याकरण गरिसकेँ। मैलेजस्तो करले सन्तान जन्माउन नपरोस् भन्नाका लागि मैले ती बहिनीलाई उनीहरूको घरमा तीनपटकसम्म पुगी आज आउन भनेको हुँ,” ३४ वर्षीया स्वास्थ्य सहायक सार्कीले भनिन्।
पछिल्लो जनगणनाअनुसार नगरपालिकाको जनसङ्ख्या २३ हजार मात्र रहेको छ। तीमध्ये वडा ५ मा दलित समुदायका सार्की, आउजी, दयाल, दमाईं र पार्कीको बाहुल्यता रहेको छ। स्वास्थ्य चौकीका अनमी बिन्दा सावद भन्छिन्, “पुरुषलाई परिवार नियोजनका साधन ढाल प्रयोग गर भनेर दियो मान्दैनन्। सुने नसुनेको जस्तो गर्छन्। कति सम्झाउनु?
अहिले त टोलमा दुईवटा सन्तान भएपछि महिलालाई अस्थायी साधन आईयूसीडी र इम्प्लान्ट राख्न सम्झाउँछौँ। कतिले लोग्नेलाई जानकारी नै नदिई पनि राख्न थालेका छन्। चेतना नहुनेलाई भन्दा चेतना हुनेलाई सम्झाउन मुस्किल छ।”
उनले आफैँले आईयूसीडी प्रयोग गरेकी छन्। तामाको तारले बेरिएको पाठेघरमा राख्ने प्लास्टिकको साधनलाई ‘आईयूसीडी’ भनिन्छ। परिवार नियोजनको सबैभन्दा भरपर्दो साधन मानिएको यसले १२ वर्षसम्म काम गर्छ। चाहेको सयममा झिक्नसमेत मिल्छ।
“फागुनमा मात्र गाउँका दुई बुहारी नाता पर्नेलाई यहाँ बोलाएर इम्प्लान्ट राख्न लगाएँ। २ महिनासम्म छोरा मुख बोेलेनन्। अहिले राम्रो गर्नुभएछ भन्छन्। एक जना बोलेर केही नहुने रहेछ। समूह बोल्नुपर्छ,” अनमी सावदले दुखेसो पोखे।
यहाँ हरेक महिनाको ८ गते आमा समूहको भेला हुने गर्छ । भेलामा गर्भवती आमा, उनीहरूका स्वास्थ्य जाँच भए/नभएका, उनीहरूका अवस्था, स्तनपान, खोपको मात्रा, पोषण, सरसफाइ र परिवार नियोजनका अस्थायी साधन पुरुषले प्रयोग गर्ने कण्डम तथा महिलाका लागि पिल्स, डिपो, आईयूसीडी र इम्प्लान्टका बारेमा खुलेर महिला स्वयंसेविकाले समूहको बैठकमा जानकारी दिन्छन्।
“परिवार नियोजनका अस्थायी साधन तथा बन्ध्याकरण गरेपछि बिटुलो होइन्छ, पूजा चल्दैन। शरीर कमजोर हुन्छ भन्ने मान्यताले यहाँ जरो गाडेको छ। महिलालाई सम्झाउन सजिलो छ, पुरुषलाई अप्ठ्यारो छ,” महिला स्वयंसेविका सरस्वती जोशी भन्छिन्।
श्रीमान् आए साधन लिए, श्रीमान् गए साधन छाडे
विशेषगरी रोजगारीमा गएका श्रीमान् घर फर्किने थाहा पाएपछि महिला परिवार नियोजनका अस्थायी साधन लिन स्वास्थ्य संस्थामा आउने गर्छन्। उदयदेव स्वास्थ्य चौकीका अहेब देवराज न्यौपाने भन्छन्, “श्रीमान् आउने जानकारी भएपछि स्वास्थ्य संस्थामा महिला परिवार नियोजनको अस्थायी साधन लिन आउँछन्, श्रीमान् गएपछि साधन छाड्ने बानीमा सुधार हुँदै गएको छ।”
शिवनाथ गाउँपालिकामा यो स्वास्थ्य चौकी रहेको छ। कफाडी गाउँबाट ४ घन्टा हिँडेर स्वास्थ्य चौकीमा इम्प्लान्ट लगाउन आएकी लक्ष्मी चन्दले महिलालाई आत्मनिर्भर, आफ्नो खुट्टामा आफैँ उभिन सक्ने बनाउन तथा स्वास्थ्य अवस्था माथि उकास्न परिवार नियोजन सेवा वरदान सावित हुने अनुभव सुनाइन्।
२९ वर्षीया २ छोराकी आमा चन्दले भनिन्, “धेरै सन्तान जन्माउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्छ। केही काम गर्न पनि पाइँदैन।” यहाँका पाँचभन्दा बढी सन्तान भएका महिलाले परिवार नियोजनका लामो अवधिका सेवा प्रयोग गरी नयाँ उदाहरण देखाएका छन्।
मेलौली नगरपालिका वडा नं. १ की ३ छोरा र ३ छोरीकी आमा ३५ वर्षीया गीता दमाइँ, वडा नं. ३ की ४० वर्षीय २ छोरा र ४ छोरीकी आमा जानकी लुहार, शिवनाथ गाउँपालिका वडा ६ की १ छोरा र ७ छोरीकी आमा ३५ वर्षीया बिर्मा पार्की, पञ्चेश्वर गाउँपालिका वडा नं. ५ रोडीदेवलकी ३ छोरा र ३ छोरीकी आमा ४३ वर्षीया मथुरा भण्डारी तथा सोही वडाकी ६ छोरी र १ छोराका आमा ३३ वर्षीया लक्ष्मी भण्डारीले परिवार नियोजनको आईयूसीडी प्रयोग गरेका छन्।
पार्कीले भनिन्, “परिवार नियोजनको सेवा सहज पहुँच भएपछि सेवा लिएको हुँ। पहिलापहिला कहाँ पाइन्थ्यो।” अर्कोतर्फ २ छोरी मात्र भएका महिलाले ती साधन प्रयोग गरी व्यवस्थित परिवार योजना बुनेका छन्।
पाटन नगरपालिका वडा नं. ५ सिलङ्गाकी २८ वर्षीया पद्मा पन्तको ८ र १ वर्षीया छोरी तथा वडा नं. १ सकारकी २४ वर्षीया दुरा भट्टराईको ७ र ४ वर्षीया छोरी छन्। आईयूसीडी प्रयोग गरेकी कक्षा ८ मात्र उत्तीर्ण गरेकी भट्टराईले भनिन्, “छोरा र छोरीमा फरक छैन।”
यहाँ परिवार नियोजनको सेवाका लागि स्वास्थ्य संस्थामा ‘सेवा छ, पहुँच छैन, पहुँच छ सेवा छैन’ प्रमुख समस्या रहेको थियो तर बैतडी जिल्लामा यो अवस्था अन्त्यतर्फ उन्मुख हुँदै गएको छ। जिल्लाका ६८ वटा स्वास्थ्य संस्थामा परिवार नियोजनका सेवामा सहज पहुँच रहेको बताइन्छ।
के हो भिजिटिङ सर्भिस प्रोभाइडर्स ?
लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेषगरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालिमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पुर्याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ।
बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डीआईडी)को आर्थिक सहयोग र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को प्राविधक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ यो कार्यक्रम कार्यान्वयन गरिराखेको छ।
कार्यक्रमका जिल्ला संयोजक गणेश शाहीले बैतडी जिल्लाका सन् २०१९ मा परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट र आईयूसीडी प्रयोग गर्नेको सङ्ख्या ९ सय ८९ पुगेको जानकारी दिइन्।
कार्यक्रमले विशेषगरी इम्प्लान्ट र आईयूसीडी राख्न र झिक्नसमेत ज्ञान र सीप भएका नेपाल सरकारका स्वास्थ्यकर्मी र अन्य स्वास्थ्यकर्मीलाई तालिम दिई जिल्लामा सबै स्वास्थ्यमार्फत सेवा दिइराखेको छ। अर्कोतर्फ सरकारी स्वास्थ्यकर्मीका साथमा तीनवटा समूह जिल्लाभर परिचालन भइराखेको छ। (रासस)