काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १७ को श्री घ: बहाः क्षेत्रमा केही दिनदेखि बेवारिसे अवस्थामा बसिरहेका दुई जनाको महानगरपालिकाले उद्धार गरेको छ। स्थानीय बासिन्दाले गुनासो गरेपछि महानगरपालिकाको नगरप्रहरी टोली घटनास्थलमा पुगेको थियो।
स्थानीयका अनुसार ती व्यक्तिहरू अनाधिकृत रूपमा बस्दै आएका थिए र कहिलेकाहीँ आगन्तुकहरूसँग दुर्व्यवहार समेत गर्ने गरेका थिए। नगरप्रहरी टोलीले दुवै जनालाई उद्धार गरी महानगरपालिकाको समन्वयमा रानीवनस्थित मानव सेवा आश्रममा सुरक्षित रूपमा बुझाएको छ। मानव सेवा आश्रमका पूर्णचन्द्र भट्टका अनुसार हाल उनीहरू आश्रमको संरक्षणमा रहेका छन् र आवश्यक हेरचाह तथा सहयोग प्रदान भइरहेको छ। महानगरपालिकाले स्थानीयको सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राख्दै तत्काल उद्धार गरिएको जनाएको छ।