काठमाडौं । अमेरिकामा आठ जना सवार निजी जेट विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मेन राज्यको बांगोर सहरस्थित बांगोर अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार साँझ करिब ७:४५ बजे भएको हो।
अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले दुर्घटनामा परेको विमान बम्बार्डियर च्यालेन्जर ६५० मोडलको व्यावसायिक जेट भएको पुष्टि गरेको छ।
विमानमा आठ जना सवार रहेको जनाइएको छ। तर उनीहरूको अवस्था सम्बन्धी विस्तृत विवरण तत्काल सार्वजनिक गरिएको छैन। बांगोर विमानस्थल प्रशासनले दुर्घटनापछि आपतकालीन उद्धार टोली तुरुन्तै घटनास्थलमा परिचालन गरिएको जनाएको छ। घटनापछि विमानस्थल केही समयका लागि बन्द गरिएको थियो।
एफएएले जारी गरेको विज्ञप्तिमा दुर्घटनाको अनुसन्धान एफएएसँगै राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले संयुक्त रूपमा गर्ने जानकारी दिएको छ।
सिएनएनका अनुसार दुर्घटना उत्तरपूर्वी अमेरिकामा फैलिरहेको भीषण हिमआँधीका बीच भएको हो। मेन राज्यमा तापक्रम शून्यभन्दा निकै तल झरेको र हल्का हिमपातका कारण दृश्यता अत्यन्तै कम भएको बताइएको छ।
संघीय अभिलेखअनुसार दुर्घटनाग्रस्त निजी जेट टेक्सासको ह्युस्टनमा दर्ता भएको एक सीमित दायित्व कम्पनी (एलएलसी) को स्वामित्वमा रहेको उल्लेख गरिएको छ।
दुर्घटनाको कारणबारे भने हालसम्म आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन। अनुसन्धानपछि मात्रै विस्तृत विवरण आउने जनाइएको छ।