काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी गरिने यो प्रतिज्ञा पत्रको अनुमोदन भर्चुअल बैठकमा सबै सदस्यको सहमतिमा भएको हो।
कांग्रेसले आज जनकपुरमा आयोजना हुने सभामार्फत प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ। सभामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र अन्य केन्द्रीय नेताहरूले मन्तव्य दिने कार्यक्रम तय छ। पार्टीका नेताहरूका अनुसार जनकपुरधाममा आयोजना हुने यो सभा केवल राजनीतिक कार्यक्रम नभई मधेसको गौरव, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको संदेश प्रवाह गर्ने ऐतिहासिक अवसर हो। मधेस आन्दोलनपछिको राजनीतिक यात्रा अनुसार कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तिकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएको कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले बताए।