काठमाडौँ - भक्तपुरस्थित नेपाल क्यान्सर अस्पतालमा काठमाडौँ क्यान्सर सेन्टरले बुधबारबाट हाई डोज रेट ब्राकी थेरापि सेवा शुरु गरेको छ। विभिन्न क्यान्सरहरूमा, विशेषगरी पाठेघरको मुखको क्यान्सरको उपचारमा अत्यन्त महत्त्वपूर्ण यो उपचार प्रविधि शुरु गरेपछि अब क्यान्सरका बिरामीले यस अस्पतालमा सहज उपचार पाउने भएका छन्।
यो मेशिनको प्रयोगबाट पाठेघरको मुखको क्यान्सर, मुखको क्यान्सर, प्रोस्टेट, स्तन र खाने नलीको क्यान्सरलगायत अधिकांश क्यान्सरमा रेडियोथेरापि दिन सकिन्छ। आधुनिक ३–डी प्लानिङसहितको उक्त विश्वस्तरीय प्रणाली क्यान्सरको उपचारमा निकै नै सुरक्षित र प्रभावकारी विधि मानिन्छ।
क्यान्सरको सम्पूर्ण उपचार उपलब्ध गराउने सोचका साथ शुरु भएको यो अस्पतालले नयाँ प्रविधि भित्र्याउँदै दक्ष जनशक्तिका साथ सेवा विस्तार गर्दै आएको छ। क्यान्सरको उपचारमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर तीन वर्षअघि भक्तपुरको नाला रोड, ताथलीमा ‘काठमाडौँँ क्यान्सर सेन्टर’ सञ्चालनमा आएको हो। अत्याधुनिक लिन्याकबाट ३–डी रेडियोथेरापि, आई–यम–आर–टी तथा भी–म्याट रेडियोथेरापि नियमित रूपमा दैनिक ६० जना बिरामीले पाइरहेका छन्।
भारतमा समेत निकै कम अस्पतालमा उपलब्ध रहेको रक्त क्यान्सर र बोनम्यारो प्रत्यारोपणमा उपयोगी टोटल बडी इ्र्याडिकेशन र छालाको क्यान्सरमा टोटल स्किन इलेक्ट्रोन थेरापि नेपालमा काठमाडौँ क्यान्सर सेन्टरमा मात्रै उपलब्ध छ।