काठमाडौं ।नेकपा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणाली अझै पनि पूर्ण रूपमा निष्पक्ष हुन नसकेको बताएकी छन्।
आफूले निर्वाचनमा प्रतिस्पर्धा गर्दा बुथ कब्जा र मतगणनासम्बन्धी अनियमितता भोगेको उल्लेख गर्दै त्यसका प्रमाण आफूसँग सुरक्षित रहेको उनको दाबी छ।शुक्रबार ललितपुरमा निर्वाचन आयोगले आयोजना गरेको सरोकारवालासँगको छलफलमा बोल्दै अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा ९९ प्रतिशतसम्म मतदान भएको प्रसंग उठाइन्। यति ठूलो मत खसेको विषयमा प्रश्न उठाउँदा पनि कुनै प्रभावकारी सम्बोधन नभएको उनको गुनासो थियो।
उनका अनुसार निर्वाचनमा अझै पनि पैसाको प्रभाव, शक्ति प्रदर्शन र सञ्चारमाध्यमको भूमिकाले निष्पक्षतामाथि असर पारिरहेको छ। निर्वाचनलाई स्वच्छ बनाउन यस्ता विकृति र कमजोरीको पहिचान गरी सुधारका उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिइन्।त्यसैगरी, अर्यालले नागरिक जहाँ रहे पनि मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताइन्। अन्तरजिल्ला तथा विदेशबाट मतदान गर्न पाउने व्यवस्था अघि बढाउने निर्वाचन आयोगको प्रयासलाई सकारात्मक रूपमा लिँदै उनले सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन्।
तर, यस्तो व्यवस्था लागू गर्दा भावनात्मक पक्षसँगै प्राविधिक र कानुनी जटिलतालाई समेत ध्यान दिनुपर्ने उनको सुझाव थियो। एउटै निर्वाचन केन्द्रमा विभिन्न जिल्लाका मतदाताका लागि छुट्टाछुट्टै मतपेटिका राख्नुपर्ने अवस्थाले व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने उदाहरणसमेत उनले प्रस्तुत गरिन्।निर्वाचन प्रणाली सुधारका लागि विद्यमान समस्या पहिचान गरी व्यावहारिक समाधान खोज्नुपर्ने अर्यालको भनाइ छ।