काठमाडौं ।जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाको नियुक्तिबारे संसदीय सुनुवाइ समितिले सोमबार निर्णय गर्ने भएको छ।
यसका लागि दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बैठक बोलाइएको छ।यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापाको जापानमा स्थायी बसोबास अनुमति पीआर रहेको विषय उठेपछि उनको नियुक्तिसम्बन्धी प्रक्रिया अघि बढ्न सकेको थिएन। सांसदहरूले विदेशी मुलुकको स्थायी बसोबास अनुमति लिएको विषयलाई लिएर उनको योग्यतामाथि प्रश्न गरेका थिए।
सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, सांसदहरूले संविधानको धारा २९१ मा रहेको व्यवस्थाका साथै पीआर त्यागेको समयावधिबारे थप स्पष्टता खोजेका थिए।यस विषयमा यकिन जानकारी लिन समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग आवश्यक विवरण माग गरेको थियो। तर, हालसम्म जापान सरकारबाट उक्त विवरण प्राप्त नभएको बताइएको छ।
विदेशी मुलुकको स्थायी बसोबास अनुमति त्यागेको विषयमा मागिएको जवाफ नआइसकेकै अवस्थामा समितिले पुनः बैठक बोलाएको हो।