काठमाडौं ।साताको कारोबारका क्रममा बुधबार नेपाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३३.२९ अंकले उकालो लागेर २ हजार ६६४ अंकमा पुगेको छ। यो परिसूचक साउन ३० यताकै उच्च विन्दु हो।बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। बुधबार २४१ कम्पनीको मूल्य वृद्धि हुँदा ३५ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन।कारोबार रकमसमेत बढेको छ। अघिल्लो दिन ५ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ। यो रकम भदौ ३० यताकै उच्च हो।
क्षेत्रगत सूचकतर्फ जलविद्युत् समूह सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ। व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य समूहका सूचकमा वृद्धि देखिएको छ।कम्पनीगत रूपमा बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। बुटवल पावरको मूल्य १०.६० प्रतिशतले उकालो लागेको छ। त्यस्तै सुपर खुदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, युनियन हाइड्रोपावर र सान्जेनलगायत कम्पनीको सेयर मूल्यमा पनि वृद्धि भएको छ।
अर्कोतर्फ सिर्जनशील लघुवित्त, चिरख्वा हाइड्रोपावर र माथिल्लो मैलुङखोलाको सेयर मूल्य घटेको छ।बुधबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, बुटवल पावर, अपी पावर र सोलु हाइड्रोपावरलगायत कम्पनी अगाडि रहेका छन्।समग्रमा परिसूचक र कारोबार रकम दुवै बढ्दा बुधबारको सेयर बजारमा खरिद चाप बलियो देखिएको छ।