काठमाडौं । स्पेनिस फुटबल संघले एट्लेटिको मड्रिडका स्ट्राइकर जुलियन अल्भारेजसँग सम्पर्क गर्नुअघि सम्बन्धित क्लबलाई लिखित जानकारी नदिएको विषयमा बार्सिलोनालाई ६०२ युरो जरिवाना गरेको छ।
अर्जेन्टिनाका फरवार्ड अल्भारेजसँग अनुबन्धबारे छलफल गर्दा आफ्नो क्लबलाई पूर्वजानकारी नदिएको भन्दै एट्लेटिको मड्रिडले बार्सिलोनाविरुद्ध उजुरी दिएको थियो। बार्सिलोनाले उनलाई भित्र्याउन चासो देखाएको चर्चा चले पनि २६ वर्षीय अल्भारेज हाल एट्लेटिकोमै छन्। उनीसँगको सम्झौता सन् २०३० जुनसम्म कायम छ।एट्लेटिकोले यस विषयमा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा समक्ष पनि उजुरी गरेको थियो। तर, फिफाले यो विषय आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने जनाउँदै कारबाही अघि बढाएन।
यसैबीच, पछिल्ला खेलमा आफ्नै समर्थकको आलोचना र हुटिङको सामना गरेका अल्भारेजले शनिबार डेपोर्टिभो ला कोरुनाविरुद्ध निर्णायक गोल गरे। उनको प्रदर्शनपछि केही समर्थकले उभिएर सम्मानसमेत जनाएका थिए। उक्त जितपछि प्रशिक्षक डिएगो सिमिओनेको एट्लेटिको टोली शीर्ष स्थानको बार्सिलोनाभन्दा दुई अंकले पछाडि रहेको छ।खेलपछि अल्भारेजले समर्थकसँग माफी मागेका थिए। बार्सिलोना जाने चाहना व्यक्त गरेको आफ्नो ग्रीष्मकालीन अन्तर्वार्ता गल्ती भएको उनले स्वीकार गरेका थिए।