काठमाडौं । इरानसँग जारी युद्धका कारण अमेरिकाको आर्थिक भार बढ्दै गएको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागन को पछिल्लो अनुमानअनुसार युद्धको कुल खर्च ४७ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। प्रयोग गरिएका हतियारको भण्डार पुनः भर्न र युद्धमा नष्ट भएका सैन्य उपकरण प्रतिस्थापन गर्न मात्रै ३५ अर्ब डलरभन्दा बढी आवश्यक पर्ने देखिएको छ।समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको विवरणअनुसार युद्धको अनुमानित लागत गत जुलाईमा आकलन गरिएको ३७ अर्ब ५० करोड डलरको तुलनामा २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। युद्ध सञ्चालनमा भएको खर्चका साथै क्षेप्यास्त्र, अन्य हतियार र नष्ट भएका सैन्य उपकरणको क्षतिपूर्तिसमेत पछिल्लो हिसाबमा समेटिएको जनाइएको छ।
पेन्टागनको अनुमानअनुसार युद्धमा प्रयोग भएका क्षेप्यास्त्र तथा अन्य हतियार पुनः खरिद गर्न २९ अर्ब डलरभन्दा बढी खर्च हुनेछ। त्यस्तै, युद्धका क्रममा गुमेका विमान, ड्रोन र अन्य सैन्य उपकरणको स्थानमा नयाँ सामग्री ल्याउन थप ६ अर्ब डलरभन्दा बढी आवश्यक पर्नेछ।तर अमेरिकाको वास्तविक युद्ध खर्च योभन्दा पनि माथि पुग्न सक्ने देखिएको छ। इरानी मिसाइल र ड्रोन आक्रमणका कारण अमेरिकी सैन्य अखडामा भएको क्षति मर्मत गर्न लाग्ने खर्च पछिल्लो अनुमानमा पूर्ण रूपमा समेटिएको छैन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत फेब्रुअरीमा इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए। सुरुमा छोटो समयमै युद्ध अन्त्य हुने अपेक्षा गरिए पनि सैन्य अभियान लम्बिँदा खर्च बढ्दै गएको हो।
युद्धको प्रारम्भिक चरणमा इरानको रक्षा प्रणाली कमजोर बनाउन अमेरिकाले महँगा तथा सटीक निशाना लगाउने क्षेप्यास्त्र प्रयोग गरेको थियो। त्यसपछि तुलनात्मक रूपमा कम लागतका हतियारमार्फत आक्रमण जारी राख्ने रणनीति अपनाइएको थियो। यद्यपि, युद्धविरामपछि इरानले भूमिगत भण्डारणमा रहेका केही क्षेप्यास्त्र, ड्रोन र रक्षा प्रणाली पुनः सञ्चालनमा ल्याएको रोयटर्सको विवरणमा उल्लेख छ।यसैबीच, युद्धविरामपछि ट्रम्प प्रशासनले इरानको तेल निर्यातबाट हुने आम्दानीमा रोक लगाउने उद्देश्यले समुद्री नाकाबन्दीसमेत अघि बढाएको विवरणमा जनाइएको छ। आवश्यक परे थप सैन्य कारबाही गर्न सकिने संकेतले पनि क्षेत्रीय तनाव र भविष्यको खर्चबारे अनिश्चितता बढाएको छ।
युद्धको आर्थिक प्रभाव अमेरिकाको आन्तरिक राजनीतिमा समेत देखिन थालेको छ। बढ्दो सैन्य खर्चसँगै विश्व बजारमा ऊर्जा मूल्यमा परेको प्रभाव र इन्धनको महँगीले ट्रम्प प्रशासनमाथि दबाब सिर्जना गरेको छ।आगामी मध्यावधि निर्वाचनलाई ध्यानमा राख्दा युद्धको लागत अमेरिकी प्रशासनका लागि आर्थिक मात्र नभई राजनीतिक चुनौतीसमेत बनेको छ। युद्ध लम्बिँदै जाँदा सैन्य सामग्रीको पुनः आपूर्ति, क्षतिग्रस्त संरचनाको मर्मत र थप सैन्य परिचालनमा खर्च बढ्ने सम्भावना रहेको छ।यसले इरानसँगको युद्धको परिणाम रणभूमिमा मात्र सीमित नरही अमेरिकी अर्थतन्त्र, ऊर्जा बजार र राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।