काठमाडौं ।ललितपुरमा पदार्थ विज्ञानसम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘काठमाडौं सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स कासाम–२०२६ सुरु भएको छ।
कुपण्डोलस्थित नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा मंगलबारदेखि सुरु भएको सम्मेलन चार दिनसम्म सञ्चालन हुनेछ।राष्ट्रिय योजना आयोगका सदस्य प्रा। डा. सुदन झाले सम्मेलनको उद्घाटन गरेका हुन्। नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पस र नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको संयुक्त आयोजनामा सम्मेलन भएको हो। विश्वविद्यालय अनुदान आयोगले यसमा सहयोग गरेको छ।
आयोजकका अनुसार सम्मेलनमा नेपालसहित विभिन्न देशका अनुसन्धानकर्ताले १४३ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नेछन्। कार्यक्रममा प्रमुख सम्बोधन, आमन्त्रित प्रस्तुति, विषयगत व्याख्यान र अनुसन्धानमूलक छलफल समेटिएका छन्। यसका अतिरिक्त युवा वैज्ञानिकका ७० वटा पोस्टर शोधपत्र पनि प्रदर्शनीमा राखिनेछन्।सम्मेलनको उद्घाटनपछि ‘दिगो भविष्यका लागि स्मार्ट तथा बहुउपयोगी पदार्थ’ विषयमा विशेष सत्र सञ्चालन गरिएको थियो। सम्मेलनमा नेपाल, भारत, अमेरिका, जापान, रुस, जर्मनी र अस्ट्रेलियाका वैज्ञानिक सहभागी छन्।
कार्यक्रममा न्यानो प्रविधि, जैविक प्रविधि, हरित ऊर्जा, ऊर्जा भण्डारण प्रणाली, कम्प्युटर सिमुलेसन र जैविक पदार्थसम्बन्धी नवीन अनुसन्धान प्रस्तुत गरिने आयोजकले जनाएको छ। यसका साथै युवा वैज्ञानिकको योगदान, दिगो सहर निर्माणमा प्रविधिको प्रयोग र बाँसजस्ता स्थानीय स्रोतलाई आधुनिक विज्ञानसँग जोड्ने विषयमा तीनवटा गोलमेच छलफल आयोजना गरिनेछ।
सम्मेलनमा उत्कृष्ट अनुसन्धान तथा पोस्टर प्रस्तुति गर्ने सहभागीलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत छ। सम्मेलन सकिएपछि सहभागी वैज्ञानिकले मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत भ्रमण गर्नेछन्।अक्टोबर २८ देखि ३१ सम्म सञ्चालन हुने सम्मेलनले नेपाली अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग जोड्न तथा पदार्थ विज्ञानमा अनुसन्धान, नवप्रवर्तन र शैक्षिक सहकार्य विस्तार गर्न योगदान पुर्याउने अपेक्षा आयोजकले गरेका छन्।