काठमाडौं । भारतको आसाम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा एक महिलासहित पाँच जनाको ज्यान गएको छ। घटनामा गोली लागेका अर्का एक जनाको उपचार भइरहेको छ।
प्रहरीका अनुसार सोमबार राति होटलका मालिक र भाडामा होटल सञ्चालन गर्दै आएका व्यक्तिबीच विवाद भएपछि गोली चलेको हो।
घटना राति करिब ९ बजे जीएस रोडस्थित होटल बिलास इनमा भएको थियो। उक्त होटल आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा रहेको बताइएको छ।
प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार घटनामा छ जना गोली लागेर घाइते भएका थिए। तीमध्ये पाँच जनाको मृत्यु भएको उनले समाचार एजेन्सी पीटीआईलाई बताएका छन्।
घटनापछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको समाचार एजेन्सी एएनआईले जनाएको छ। प्रहरीका अनुसार गोली प्रहारमा लाइसेन्स प्राप्त .३२ बोरको पेस्तोल प्रयोग भएको थियो। घटनामा प्रयोग गरिएको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।