काठमाडौं । इजरायलमा नयाँ सरकार चयनका लागि आज आम निर्वाचनअन्तर्गत मतदान हुँदैछ।
पछिल्लो तीन वर्षदेखि हमास, इरानलगायत क्षेत्रीय शक्तिसँग युद्ध र तनावको सामना गरिरहेको इजरायलमा यस निर्वाचनलाई राजनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ। निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धन र विपक्षी दलहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। सार्वजनिक मत सर्वेक्षणहरूले दुवै पक्षबीचको मतान्तर निकै कम देखाएकाले चुनावी परिणामलाई चासोका साथ हेरिएको छ।
यसपटकको निर्वाचनमा करिब पाँच लाख नयाँ मतदाताले पहिलोपटक मतदान गर्दैछन्। उनीहरूको मतले चुनावी परिणाममा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने आकलन गरिएको छ। नयाँ मतदातामध्ये दक्षिणपन्थी समूह र नेतान्याहुप्रति समर्थन देखिन सक्ने अनुमान पनि गरिएको छ। इजरायलमा कुनै एक दलले स्पष्ट बहुमत हासिल गर्ने सम्भावना कम देखिएकाले निर्वाचनपछि सरकार गठनका लागि गठबन्धन निर्माण निर्णायक बन्न सक्नेछ। इजरायली संसद् नेसेटका कुल १२० सिटका लागि मतदान भइरहेको छ। सरकार गठन गर्न कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्छ। निर्वाचनमा ७३ लाख ३१ हजारभन्दा बढी मतदाता मतदानका लागि योग्य रहेको जनाइएको छ। निर्वाचनको औपचारिक नतिजा आगामी नोभेम्बर ४ मा सार्वजनिक गरिने बताइएको छ।