काठमाडौं ।चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित धारापानीमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत उक्त स्थानमा आज बिहान ८ः४५ बजे बस, ट्रक र माइक्रोबसबीच दुर्घटना भएको हो। सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटनामा परेका हुन्।दुर्घटनाको खबर पाएलगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको थियो।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेहरूको उपचार भइरहेको छ।