काठमाडौं । तिहार नजिकिँदै गर्दा भक्तपुरको गुण्डुमा मखमली फूल टिप्ने र माला उन्ने कामले तीव्रता पाएको छ।
दाजुभाइको दीर्घायु र स्नेहको प्रतीक मानिने मखमली माला तयार गर्न किसानहरू बिहानैदेखि खेतबारीमा व्यस्त छन्।गुण्डु काठमाडौं उपत्यकामा मखमली फूल आपूर्ति गर्ने प्रमुख क्षेत्रमध्ये एक हो। यहाँका किसानले जेठ महिनादेखि सुरु गरेको खेतीबाट भदौदेखि कात्तिकसम्म फूल उत्पादन गर्छन्। बिहान टिपिएका फूललाई दिउँसो माला गाँस्न प्रयोग गरिन्छ। घाम चर्किनुअघि फूल टिप्दा राम्रो हुने भएकाले किसानहरू बिहानै बारी पुग्ने गरेका छन्।
मखमली खेतीबाट एक रोपनी जग्गामा एक सिजनमा करिब एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको किसानहरूको भनाइ छ। तर, यस वर्ष उत्पादनको व्यस्तताबीच बजारमा अपेक्षित कारोबार नहुँदा उनीहरू निराश देखिएका छन्।किसानका अनुसार विगतका वर्षमा एउटा माला ३५ देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो। यस वर्ष भने व्यापार सोचेजस्तो हुन सकेको छैन। फूल उत्पादन गर्नेदेखि टिप्ने र माला गाँस्नेसम्मको खर्च तथा श्रम जोड्दा आम्दानीबाट नाफा निकाल्न कठिन भएको उनीहरूको गुनासो छ।
विशेषगरी अरूको जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई खर्च धान्न थप चुनौती देखिएको छ। यस वर्ष देशमा परेको शोकका कारण पनि फूलको कारोबार प्रभावित भएको किसानहरूको अनुभव छ।तिहारमा मखमली माला दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै लगाइदिने परम्परा छ। यही सांस्कृतिक महत्त्व बोकेको फूल उत्पादन गर्न किसानले महिनौँसम्म मेहनत गर्छन्। तर, बजार र उचित मूल्यको सुनिश्चितता नहुँदा गुण्डुका किसानका लागि तिहारको चटारोसँगै आर्थिक चिन्ता पनि थपिएको छ।