काठमाडौं ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताबाट निर्वाचित सरकारलाई संविधानअनुसार पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्।
निर्वाचन सम्पन्न भएलगत्तै सरकार परिवर्तन र आन्दोलनका विषयमा चर्चा हुन थालेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले लोकतान्त्रिक व्यवस्थामा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि राजनीतिक स्थिरतालाई कमजोर बनाउने गतिविधि उचित नहुने बताएका हुन्।उनका अनुसार सरकारले गरेका कामको आलोचना गर्नु, कमजोरी औँल्याउनु र जनताका मुद्दामा खबरदारी गर्नु प्रतिपक्षको जिम्मेवारी हो। तर, निर्वाचनबाट बनेको सरकारलाई सुरुदेखि नै हटाउने चर्चा गर्नुले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने उनको भनाइ छ।
विगतमा बारम्बार सरकार परिवर्तन हुँदा देशले राजनीतिक र आर्थिक क्षेत्रमा विभिन्न चुनौती सामना गरेको उल्लेख गर्दै भट्टराईले अस्थिरताले विकास प्रक्रियामा असर पार्ने र युवाको विदेश पलायनलाई थप बढावा दिन सक्ने धारणा राखेका छन्।उनले सरकारले विशेषगरी विपत्तिमा परेका नागरिक, गरिब तथा कमजोर वर्ग र ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायका समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। जनताको आवाज बेवास्ता गरेमा सरकारलाई संविधान र कानुनले निर्धारण गरेको प्रक्रियाबाट जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ।
सरकारले राम्रो काम गर्न नसके वा देशको हितविपरीत काम गरेमा त्यसको मूल्याङ्कन आगामी निर्वाचनमा जनताले गर्न सक्ने उल्लेख गर्दै भट्टराईले निर्वाचित सरकारलाई संवैधानिक सीमाभित्र रहेर काम गर्ने अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन्।