काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्किने यात्रुको संख्या बढ्दै गएको छ।
घटस्थापनादेखि महाअष्टमीसम्म करिब ५ लाख यात्रुले उपत्यका छाडिसकेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि आइतबारसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
महाअष्टमीका दिन पनि घर फर्किने यात्रुको चाप उल्लेख्य देखिएको थियो। नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा यात्रुको चहलपहल बढेको थियो।प्रवक्ता सुवेदीका अनुसार आइतबार बिहान उपत्यकाबाट बाहिरिने सवारीसाधनको चाप बढी रहे पनि त्यसपछि क्रमशः घट्दै गएको छ। दसैँ मनाउन ठूलो संख्यामा मानिस उपत्यकाबाहिरिएसँगै काठमाडौँका सडकमा सवारीसाधनको चाप पनि कम हुँदै गएको छ। दसैँको टीका नजिकिँदै गर्दा घर फर्किने यात्रुको आवागमनले उपत्यकाका प्रमुख बसपार्क तथा सडक क्षेत्रमा चहलपहल बढेको छ।