काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गुल्मीको मर्भुङकोट मन्दिर पुर्खाको विरासत, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताएका छन्।
आइतबार गुल्मीको मालिका गाउँपालिका–८ स्थित करिब पाँच सय वर्ष पुरानो ऐतिहासिक मर्भुङकोट मन्दिरको उद्घाटन गर्दै उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा आपसी सद्भाव कायम गर्नुपर्नेमा जोड दिए। महानिरीक्षक कार्कीले धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक, खानेपानी, शौचालय र विश्रामस्थलजस्ता आधारभूत पूर्वाधार आवश्यक रहेको बताए। यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसहित सम्बन्धित निकायबीच समन्वय र सहकार्य हुनुपर्ने उनको भनाइ थियो।
उनले चाडपर्वमा देवीदेवताको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय तथा शोषण गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाहजस्ता कुप्रथाको अन्त्य गरी महिलाको सम्मान सुनिश्चित गर्न सके मात्रै विजयादशमीको सन्देश सार्थक हुने उनले उल्लेख गरे। विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा रहेका विकृति र कुरीतिविरुद्ध सङ्कल्प गर्ने अवसरसमेत भएको कार्कीले बताए।
स्थानीय जनसहभागितामा मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले जानकारी दिए। मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ। निर्माणका लागि ३२४ जना दाताबाट एक सय रुपैयाँदेखि तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग सङ्कलन गरिएको थियो। कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पुर्याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो। मर्भुङकोट मन्दिर साविकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ।