काठमाडौँ । क्यानडाको अल्बर्टा प्रान्तस्थित सैनिक तालिम केन्द्रनजिक भीषण आगलागी हुँदा कैयौँको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबर सार्वजनिक भएको छ।
यद्यपि, मृत्यु हुने र घाइते हुनेको यकिन सङ्ख्या क्यानडा सरकारले आधिकारिक रूपमा पुष्टि गरेको छैन। क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले घटनालाई अत्यन्त संवेदनशील र गम्भीर अवस्थाका रूपमा वर्णन गर्दै सैनिक तथा स्थानीय अधिकारीहरू आगो नियन्त्रण र उद्धार कार्यमा जुटिरहेको बताएका छन्। क्यानडियन फोर्सेस बेस वेनराइटमा शनिबार आगलागी भएको हो। यो केन्द्र देशका प्रमुख सैनिक तालिम केन्द्रमध्ये एक हो, जहाँ प्रत्यक्ष गोली तथा हतियार प्रयोग हुने सैन्य अभ्याससमेत गरिन्छ।
क्यानडाको ग्लोबल न्युजले नाम नखुलाइएका सैनिक स्रोतलाई उद्धृत गर्दै सैन्य अभ्यासका क्रममा ग्यास पाइपलाइन वा ग्यास इनारमा क्षति पुगेपछि आगलागी भएको र कम्तीमा सात जनाको मृत्यु भएको तथा दर्जनौँ घाइते भएको जनाएको छ। तर, घटनाको कारण र क्षतिको विवरणबारे आधिकारिक पुष्टि हुन बाँकी छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनालाई गम्भीर दुर्घटना भन्दै प्रभावित सैनिक तथा अन्य व्यक्तिप्रति दुःख व्यक्त गरेका छन्। अल्बर्टा प्रान्तकी मुख्यमन्त्री ड्यानियल स्मिथले पनि घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित सैनिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।
स्थानीय प्रशासनका अनुसार तीव्र हावाका कारण आगो छिटो फैलिएको थियो। आगो सैनिक अड्डाको घेराबार पार गर्दै बाहिरसम्म फैलिएको जनाइएको छ। घटनापछि स्थानीय बासिन्दालाई प्रभावित क्षेत्रबाट टाढा रहन र उद्धारमा खटिएका सवारीसाधनलाई बाटो दिन आग्रह गरिएको छ। घाइतेको उपचारका लागि एडमन्टनस्थित रोयल अलेक्जान्ड्रा अस्पतालले ठूलो सङ्ख्यामा घाइते आउने सम्भावनालाई ध्यानमा राख्दै विपद् व्यवस्थापनसम्बन्धी सतर्कता अपनाएको क्यानडियन ब्रोडकास्टिङ कर्पोरेसन (सीबीसी) ले जनाएको छ। अस्पतालका एक आकस्मिक चिकित्सकले घाइतेको सङ्ख्या स्वास्थ्य संस्थाहरूका लागि ठूलो चुनौती बन्न सक्ने बताएका छन्।
यसैबीच, सास्काचेवान र ब्रिटिस कोलम्बिया प्रान्तका सरकारले पनि आवश्यक परे अल्बर्टालाई सहयोग उपलब्ध गराउने तयारी गरेका छन्। वेनराइट सैनिक अड्डामा सामान्यतया करिब ६९० सैनिक र ३०० नागरिक कर्मचारी कार्यरत रहने बताइएको छ। घटनापछि आगलागीको कारण, मानवीय क्षति र प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण आउन बाँकी छ।