काठमाडौं । पहाडी क्षेत्रमा सडक, सिँचाइ र बजारको अभावका कारण कृषि व्यवसाय सञ्चालन गर्न कठिन हुने गरेको छ।
तर, यस्ता चुनौतीका बीच बझाङको दुर्गाथली गाउँपालिका–५ सैनकी माया जप्रेलले व्यावसायिक तरकारीखेतीबाट आफ्नो परिवारको आर्थिक अवस्था परिवर्तन गर्न सफल भएकी छन्। ४५ वर्षीया मायाले तरकारीखेतीबाट वार्षिक आठ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छन्। उनको कृषि व्यवसाय अहिले परिवारको आयआर्जनको मुख्य आधार बनेको छ। यही आम्दानीबाट उनले आफ्ना छोराछोरीको उच्च शिक्षामा लगानी गरिरहेकी छन्।
मायाका श्रीमान् सुरेन्द्र जप्रेल आधारभूत तहका शिक्षक हुन्। श्रीमानको सीमित तलबले घरखर्च चलाउन र छोराछोरीलाई उच्च शिक्षा दिलाउन कठिन भएपछि उनले कृषि व्यवसायलाई विस्तार गर्ने निर्णय गरेकी थिइन्। अहिले उनको मेहनतले परिवारको आर्थिक अवस्था सुधारिएको छ। ‘छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने सोचले खेती सुरु गरेकी हुँ। अहिले यही व्यवसायले हाम्रो सपना पूरा गर्न सहयोग गरिरहेको छ,’ माया भन्छिन्।
पिठ्युँमा तरकारी बोकेर बजार पुर्याउने दिनदेखि व्यावसायिक खेतीसम्म
विगतमा दुर्गाथलीबाट सदरमुकाम चैनपुरसम्म उत्पादन पुर्याउन सहज सडक सुविधा थिएन। माया आफ्ना बारीमा फलेका तरकारी पिठ्युँमा बोकेर घण्टौँ हिँड्दै बजारसम्म पुग्थिन्। निरन्तरको मेहनत र लगनशीलताले अहिले उनको उत्पादनले स्थानीय बजारमा राम्रो पहिचान बनाएको छ। सडक सुविधा विस्तार भएपछि तरकारी बिक्री गर्न सहज भएको उनी बताउँछिन्। हाल उनले बन्दा, गोलभेँडा, खुर्सानी, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएकी छन्। विशेषगरी गोलभेँडा र बन्दाबाट राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ।
मायाको आफ्नै सातवटा प्लास्टिक टनेल छन्। त्यस्तै, उनी अध्यक्ष रहेको सरस्वती कृषक समूहअन्तर्गत १५ वटा टनेल सञ्चालनमा छन्। समूहका अन्य सदस्य पनि तरकारीखेतीमा संलग्न छन्। मायाको बारीमा वार्षिक कम्तीमा ७० क्विन्टल तरकारी उत्पादन हुने गरेको छ। यस वर्ष जेठदेखि साउनसम्म मात्रै उनले नौ गाडी तरकारी सदरमुकाम चैनपुर पठाएकी थिइन्। त्यसपछि पनि दर्जनभन्दा बढी गाडी तरकारी बिक्रीका लागि पठाएको उनले बताएकी छन्। तरकारीको उत्पादन बढी हुने समयमा चैनपुरबाहेक झोता, तमैल, बागथला, देउरा र वित्थडसम्मका बजारमा समेत उनको उत्पादन पुग्ने गरेको छ। व्यावसायिक खेतीमा सक्रिय रहेकै कारण उनले विभिन्न ठाउँबाट कृषि पुरस्कारसमेत प्राप्त गर्दै आएकी छन्।
तरकारीको कमाइबाट छोराको एमबीबीएस अध्ययन
मायाको कृषि व्यवसायबाट प्राप्त आम्दानीको ठूलो हिस्सा सन्तानको शिक्षामा खर्च हुँदै आएको छ। उनका छोरा गजेन्द्र जप्रेल हाल बङ्गलादेशमा एमबीबीएस अध्ययन गरिरहेका छन् भने दुई छोरी काठमाडौंमा लोकसेवा आयोगको तयारीमा छन्। ‘पहिले श्रीमानको तलबले घर चलाउन पनि गाह्रो हुन्थ्यो। अहिले कृषि नै हाम्रो परिवारको मुख्य आधार बनेको छ,’ उनी भन्छिन्।
सन्तानको भविष्यलाई प्राथमिकता दिएकी माया आफ्नो कमाइ शिक्षामा लगानी गरिरहेको बताउँछिन्। खेतीबाट आम्दानी बढ्दै गएपछि छोराछोरीको पढाइका लागि अरूसँग आर्थिक सहयोग माग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। ‘मेरा सम्पत्ति भनेकै सन्तान हुन्,’ माया भन्छिन्, ‘उनीहरूलाई राम्रो शिक्षा दिनकै लागि खेती विस्तार गर्दै गएँ।’
परिवारको सहयोगले थपिएको हौसला
मायाको सफलतामा परिवारको साथ पनि महत्त्वपूर्ण रहेको छ। विद्यालयमा अध्यापन गर्ने समयबाहेक उनका श्रीमान् सुरेन्द्रले खेतीपातीमा सहयोग गर्दै आएका छन्। ‘म दिनभर खेतबारीमै व्यस्त हुन्छु। विद्यालयबाट फर्किएपछि श्रीमानले पनि सघाउनुहुन्छ। परिवारको सहयोग नभएको भए यति धेरै काम गर्न सम्भव हुने थिएन,’ उनी भन्छिन्। माया जप्रेलको अनुभवले पहाडी क्षेत्रमा पनि मेहनत, निरन्तरता, बजारको पहुँच र प्राविधिक सहयोगको संयोजनबाट कृषि व्यवसायलाई आम्दानीको भरपर्दो माध्यम बनाउन सकिने देखाएको छ। परम्परागत खेतीलाई व्यावसायिक रूप दिँदै उनले परिवारको आर्थिक अवस्था सुधार्नुका साथै सन्तानको शिक्षामा समेत योगदान पुर्याइरहेकी छन्।