धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ मा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सातजना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
वनदेवी मन्दिरअगाडि सुपप्र ०१००१ ह ८६३३ नम्बरको अटो र सुपप्र ०१००९ प ९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा अटो चालक गणेश आले, मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का निरज रावत, मोटरसाइकलको पछाडि सवार गोदावरी–४ लालपुरका ४६ वर्षीय भरत बुढा र अटोमा सवार ३१ वर्षीय भीमबहादुर महतरा गम्भीर घाइते भएका छन्।
त्यस्तै, चुरे गाउँपालिका–५ का ४० वर्षीय चन्द्रबहादुर राना, ३० वर्षीया मेनुका महतरा र उनका डेढ वर्षीय छोरा रिदम महतरा पनि दुर्घटनामा घाइते भएका छन्। घाइते सबैको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा संलग्न अटो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।