काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरी नयाँ उत्साह र योजनासहित अघि बढाउनुपर्ने बताएका छन्। उनले आगामी महाधिवेशनलाई नियमित प्रक्रिया पूरा गर्ने कार्यक्रमका रूपमा मात्र नभई पार्टीको भविष्य बदल्ने महत्वपूर्ण अवसर बनाउनुपर्नेमा जोड दिएका छन्।
मंगलबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले आगामी महाधिवेशन राप्रपाका लागि निर्णायक मोड बन्नुपर्ने बताए। पार्टीलाई नयाँ उचाइमा पुर्याउन नेतृत्व चयनमा मात्र सीमित नभई संगठन विस्तार र राजनीतिक प्रभाव बढाउने दिशामा काम गर्नुपर्ने उनको भनाइ थियो। लिङ्देनले अहिले पार्टीमा रहेका नेता तथा कार्यकर्ताबीचको एकताले मात्र राप्रपालाई अपेक्षित रूपमा ठूलो बनाउन नसकिने उल्लेख गरे। आमनागरिकलाई पार्टीमा जोड्ने वातावरण तयार गर्नुपर्ने र लाखौँ नयाँ सदस्यका लागि प्रवेशको बाटो खुला गर्नुपर्ने उनले बताए। नयाँ मानिसलाई आकर्षित गर्न नसके पार्टीको विस्तार सम्भव नहुने उनको तर्क थियो।
विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ता स्वतःस्फूर्त रूपमा राप्रपामा जोडिन थालेको दाबी गर्दै उनले यसले पार्टीमा उत्साह थपेको बताए। नेकपा एमालेबाट रामकोट गाविसको अध्यक्षमा दुईपटक निर्वाचित मोहन गिरी तथा एमालेको बाँके जिल्ला कमिटीमा रहेकी रचनालगायतका व्यक्तिहरू राप्रपामा प्रवेश गरेको उनले उल्लेख गरे। अन्य ठाउँबाट पनि विभिन्न दलका नेता तथा कार्यकर्ता पार्टीमा आउने तयारीमा रहेको उनको भनाइ थियो। अध्यक्ष लिङ्देनले नेपालको राजनीति अनिश्चित अवस्थामा रहेको टिप्पणी गर्दै मुलुकलाई सही दिशा र निकास दिन सक्ने शक्तिका रूपमा राप्रपा स्थापित हुनुपर्ने बताए। आगामी राजनीतिक चुनौती सामना गर्दै देशको नेतृत्व गर्न सक्षम पार्टी निर्माण गर्नु नेता तथा कार्यकर्ताको साझा जिम्मेवारी भएको उनले धारणा राखे।