काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित उनासी पुल नजिक पूर्व–पश्चिम राजमार्गमा दुई बसको ठक्करबाट एक ईभी चालक घाइते भएका छन्।
बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय ब्रह्मदेव मण्डल घाइते भएका हुन्। प्रहरीका अनुसार उनको ढाडमा चोट लागेको छ। उनको निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्रहरीले दिएको जानकारीअनुसार काँकडभिट्टाबाट नेपालगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बस उनासी पुलमा अर्को गाडी आएपछि साइड लगाएर रोकिएको थियो। सोही दिशाबाट पछाडि आउँदै गरेको कोशी प्रदेश १–०१–००१ ख ४८६५ नम्बरको बसले रोकिराखिएको मधेस प्रदेश ०४–००१ ज ०१६० नम्बरको ईभीलाई पछाडिबाट ठक्कर दिएको थियो।
ठक्करपछि ईभी अगाडि रोकिएको बसमा समेत ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ईभीमा क्षति पुगेको छ भने अगाडिको बसमा सामान्य क्षति भएको छ। दुर्घटनामा दुवै बसका चालक भने सकुशल रहेका छन्। बागमती प्रदेशको बसका चालक झापाको मेचीनगर नगरपालिका–७ निवासी ३४ वर्षीय भरत निरौला हुन्। उक्त बसमा यात्रुहरू रहेकाले आवश्यक प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। त्यस्तै, कोशी प्रदेशको बसका चालक झापाको कमल गाउँपालिका–६ निवासी करिब ४७ वर्षीय डम्बरकुमार ताजपुरिया पनि सुरक्षित रहेका छन्। उक्त बस र चालकलाई इलाका ट्राफिक प्रहरी कार्यालय निजगढले नियन्त्रणमा राखेको छ। दुर्घटनापछि असई अनराजेश्वरप्रसाद चौरसियाको नेतृत्वमा सात जना ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।