काठमाडौं।गोरखाको चुम उपत्यकामा बूढीगण्डकी नदीमा आएको बाढीका कारण पुल तथा पदमार्गमा क्षति पुगेपछि घुम्न पुगेका पर्यटकहरू अलपत्र परेका छन्।
आइतबार आएको बाढीले आवतजावत गर्ने बाटो र विभिन्न स्थानका पुल बगाएपछि पर्यटकलाई गन्तव्यतर्फ जान कठिन भएको हो। बाटो अवरुद्ध भएपछि पर्यटकहरू त्रासमा रहेको स्थानीय होटल व्यवसायीहरूले बताएका छन्।स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीका अनुसार अलपत्र परेका केही पर्यटकको उद्धार नेपाली सेनाको हेलिकप्टरमार्फत भइरहेको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्याप का अनुसार उक्त क्षेत्रमा हाल ८० जनाभन्दा बढी पर्यटक रहेका छन्।
छेकम्पारका होटल व्यवसायी दोर्जे लामाले आवतजावत गर्न नसक्दा पर्यटकहरू चिन्तित बनेको जानकारी दिएका छन्।सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ। आपत्कालीन अवस्था भए पर्यटकका सम्बन्धित कम्पनीले पनि उद्धारको व्यवस्था गर्न सक्ने र अन्य अवस्थामा सरकारले आफ्नो कार्ययोजनाअनुसार उद्धार गर्ने उनले बताएका छन्।