काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणनामा खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम राखेका छन्।
महिलातर्फ भने प्रतिमा गौतमले फराकिलो मतान्तरसहित आफ्नो अग्रता बढाएकी छन्। खुला सहमहामन्त्रीका दुई पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। हालसम्म २ हजार ४९१ मत गणना हुँदा खतिवडाले १ हजार १२५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। शिवाकोटीले ८०६ मत ल्याएर दोस्रो स्थानमा आफ्नो पकड कायम राखेका छन्।
खुलातर्फ डिल्लीराम सुवेदी ६१० मतसहित तेस्रो स्थानमा छन्। त्यसैगरी देवेन्द्रराज कँडेलले ५२४, विकास कोइरालाले ४१५, राजीव ढुंगानाले ३७४, रमेशप्रसाद धमलाले २९३, अमृतकुमार अर्यालले २७२ र विमलराज क्षेत्रीले ९९ मत प्राप्त गरेका छन्। महिला सहमहामन्त्रीतर्फ पनि प्रतिमा गौतमले अग्रता कायम गरेकी छन्। २ हजार ४९० मत गणना हुँदा गौतमले १ हजार ६७८ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी नानू बास्तोलाले ४७९ मत प्राप्त गरेकी छन्। हालको मतपरिणामअनुसार खुलातर्फ खतिवडा र शिवाकोटी अगाडि देखिएका छन् भने महिलातर्फ गौतमले उल्लेख्य मतान्तर बनाएकी छन्। अन्तिम नतिजा भने मतगणना सम्पन्न भएपछि मात्रै निश्चित हुनेछ।