काठमाडौं । बडादसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्न थालेको छ।
अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्किन थालेपछि नयाँबसपार्कमा यात्रुको चहलपहल बढेको हो।काठमाडौंको नयाँबसपार्कबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीसाधनमा यात्रुको भीड बढ्दै गएको छ। लामो तथा छोटो दूरीका बसमार्फत परिवार र आफन्तसँग चाडपर्व मनाउन घर जाने यात्रुको आवागमन बढेको देखिन्छ।नयाँबसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नौ दिनको अवधिमा नयाँबसपार्कबाट दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन्।
उनले उपलब्ध गराएको विवरणअनुसार असोज १७ गते १८ हजार ७२९, १८ गते १९ हजार ५३०, १९ गते २३ हजार १६ र २० गते २९ हजार ६०२ यात्रु बाहिरिएका थिए। यस्तै, असोज २१ गते २२ हजार २८८, २२ गते २५ हजार २०१, २३ गते ३१ हजार २३५, २४ गते १६ हजार ९७० र २५ गते २९ हजार ३८० यात्रुले नयाँबसपार्कबाट यात्रा गरेका थिए।यात्रुको चाप बढेसँगै सवारी व्यवस्थापनमा पनि चुनौती थपिएको यातायात व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात सञ्चालन तथा यात्रु व्यवस्थापनमा कठिनाइ भएको बताएका छन्।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदी क्षेत्रमा पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन प्रभावित भएको थियो। त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यात्रु व्यवस्थापनमा थप समस्या भएको गौतमले बताएका छन्।दसैँका बेला यात्रुको चाप बढ्ने भएकाले महासङ्घले टिकट लिएर मात्र यात्रा गर्न, निर्धारित भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न यात्रुलाई आग्रह गरेको छ।हरेक वर्ष दसैँको समयमा राजधानीबाट गृहजिल्ला फर्किनेको सङ्ख्या बढ्ने गर्छ। परिवारसँग भेटघाट गर्ने र चाडपर्व मनाउने उद्देश्यले घर फर्किने क्रम बढेसँगै यस वर्ष पनि नयाँबसपार्कमा यात्रुको चहलपहल तीव्र बनेको छ।