काठमाडौं । युवा उद्यमशीलता प्रवर्द्धन, रोजगारीका अवसर विस्तार तथा कृत्रिम बुद्धिमत्ता एआई को उपयोगलाई प्राथमिकतामा राख्दै नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफिन र नेपाल बिजनेस इन्ष्टिच्युट एनबीआई को संयुक्त आयोजनामा सञ्चालन भएको सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, विकास साझेदार तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी छन्। सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट आएका करिब चार सय उद्यमी, व्यवसायी र सरोकारवालाको सहभागिता रहेको छ।सम्मेलनमा युवालाई उद्यममा आकर्षित गर्ने उपाय, व्यवसाय सञ्चालनका लागि वित्तीय पहुँच विस्तार, नयाँ प्रविधिको प्रयोग र नवप्रवर्तनमार्फत रोजगारी सिर्जना गर्ने विषयमा छलफल भइरहेको छ।
सीबीफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले युवा उद्यमी र बैंक तथा वित्तीय क्षेत्रबीचको सहकार्यलाई बलियो बनाउन सम्मेलनले सहयोग पुर्याउने अपेक्षा व्यक्त गरेका छन्। उनका अनुसार उत्पादनमूलक क्षेत्रमा सुरक्षित कर्जा प्रवाह बढाउन तथा वित्तीय समावेशीकरणलाई प्रभावकारी बनाउन पनि यस्ता कार्यक्रम उपयोगी हुनेछन्।त्यस्तै, एनबीआईका कार्यकारी अध्यक्ष विशाल गैरेले देशको आर्थिक विकासलाई दिगो बनाउन युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिएका छन्। उनले स्टार्टअपलाई प्रारम्भिक पुँजी उपलब्ध गराउने, उद्यममैत्री नीति निर्माण गर्ने र वित्तीय स्रोतमा युवाको पहुँच बढाउने विषयलाई महत्वपूर्ण बताएका छन्।
सम्मेलनले युवा उद्यमीका लागि लगानीको वातावरण सुधार, स्टार्टअप प्रवर्द्धन, प्रविधिमैत्री व्यवसाय विस्तार र रोजगारी सिर्जनाका क्षेत्रमा आगामी दिनमा अपनाउनुपर्ने उपाय पहिचान गर्ने अपेक्षा गरिएको छ।