काठमाडौं । नवरात्र पर्वलाई लक्षित गर्दै विश्व हिन्दू परिषद्ले आगामी आइतबार चुनरी यात्रा निकाल्ने भएको छ।
शक्तिस्वरूपा देवीका विभिन्न झाँकीसहित आयोजना गरिने यात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।हिन्दू पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारका अनुसार घटस्थापनाको दिन अपराह्न माईस्थान मन्दिर परिसरबाट यात्रा सुरु हुनेछ। धार्मिक आस्था र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा करिब १० हजार महिला तथा भक्तजन सहभागी हुने अनुमान गरिएको छ।यात्रामा देवीका आकर्षक झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहने बताइएको छ।नवरात्रको अवसरमा आयोजना हुने यस कार्यक्रमले धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै भक्तजनबीच आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।