काठमाडौं ।पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटनामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू परेका हुन्।
प्राप्त विवरणअनुसार, विद्यार्थीहरू ट्युसन पढ्न जाने क्रममा बस दुर्घटनामा परेको थियो। दुर्घटनामा विद्यार्थीका साथै एक ज्येष्ठ नागरिकको समेत ज्यान गएको छ। मृतकमध्ये तीन जनाको पहिचान खुलेको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ।गण्डकी अस्पतालमा उपचारका लागि पुर्याइएका मृतकमा ममता तिवारी, अशिम कँडेल र पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्। बाबुराम तिवारी दुर्घटनाका बेला लिफ्ट लिएर यात्रा गरिरहेको बताइएको छ।
दुर्घटनामा घाइते भएकाहरूको गण्डकी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।दुर्घटनापछि उद्धारमा खटिएका प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन्। उनको पनि अस्पतालमा उपचार भइरहेको छ।