काठमाडौं । सुरक्षा निकायसँग सम्बन्धित गोप्य तथा संवेदनशील सूचना चुहावट गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न छानबिन समितिले सिफारिस गरेको छ।
गृह मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिले घटनाबारे अध्ययन गरी तयार पारेको प्रतिवेदन बिहीबार गृहमन्त्री सुधन गुरुङलाई बुझाएको हो। समितिले प्रतिवेदनमार्फत दाहाललाई सेवाबाटै हटाउन सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले बर्खास्तीसम्बन्धी औपचारिक निर्णयको प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ। सशस्त्र प्रहरी बलको नियम र आचरणविपरीत सुरक्षा संवेदनशील सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले कारबाहीका लागि सिफारिस गरेपछि गृह मन्त्रालयले गत असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो। त्यसपछि घटनाको वास्तविकता पत्ता लगाउन र तीन दिनभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले छानबिन अधिकृत तोकेको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा सुरक्षाकर्मीले आफ्नो पद र जिम्मेवारीअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षा निकायसँग सम्बन्धित संवेदनशील सूचनाको गोपनीयता कायम राख्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख छ। मन्त्रालयले पदीय मर्यादाविपरीतका गतिविधि, गोप्य सूचना चुहावट तथा शान्ति सुरक्षामा असर पार्न सक्ने कार्यमाथि निगरानी राखिरहेको पनि जनाएको छ। कानुनविपरीत काम गर्ने जोकोहीलाई नियमानुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ। यसैबीच, आगामी असोज २८ गते चार वर्षे पदावधि पूरा गर्न लागेका दाहालको म्याद थप हुन सक्ने चर्चा चलिरहेका बेला उनीमाथि यस्तो आरोप लागेको हो। संवेदनशील सूचना चुहावटको आरोपपछि निलम्बनमा परेका दाहाललाई अब छानबिन समितिको सिफारिसअनुसार बर्खास्त गर्ने वा नगर्ने भन्ने विषयमा गृह मन्त्रालयको औपचारिक निर्णय आउन बाँकी छ।