काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहान मतदान सुरु भएको छ।
बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी मतदान प्रक्रिया सुरु भएको हो। महाधिवेशन प्रतिनिधिहरूका लागि खुलामञ्चमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। तर, मतदानस्थलमा व्यवस्थापन प्रभावकारी नहुँदा प्रतिनिधिहरूबीच भीडभाड र ठेलमठेलको अवस्था सिर्जना भएको छ। मत खसाल्न खुलामञ्चभित्र प्रवेश गर्ने क्रममा प्रतिनिधिहरू एकआपसमा धकेलाधकेल गर्दै अघि बढेको दृश्य देखिएको छ।
खुलामञ्चमा छ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। बागमती प्रदेशबाट आएका प्रतिनिधिहरूका लागि भने काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा मतदान गर्ने व्यवस्था गरिएको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा व्यवस्थापनको कमजोरीका कारण प्रतिनिधिहरूले असहज परिस्थिति सामना गर्नुपरेको छ।