काठमाडौं । नेपालमा मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कायमै रहेकाले मंगलबार देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावस्वरूप कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली तथा सुदूरपश्चिमका पहाडी भूभागमा सामान्य बदली रहेको छ। अन्य क्षेत्रमा भने आंशिक बदली देखिएको छ। बिहानैदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसोको मौसम
मंगलबार दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुनसक्नेछ। यस्तै, देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको अवस्था
राति हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहने तथा अन्य तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुनसक्नेछ भने पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।