काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। दुई टोलीबीचको खेल कात्तिक ९ गते हुनेछ।
लिग चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंसिर १ गते पहिलो क्वालिफायर, मंसिर २ गते इलिमिनेटर र मंसिर ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ।
प्रतियोगिताको उपाधिका लागि निर्णायक फाइनल भिडन्त मंसिर ५ गते हुनेछ।
तेस्रो संस्करणमा कुल ३२ खेल हुनेछन्। तीमध्ये फाइनलसहित २० खेल फ्लडलाइटमा सञ्चालन गरिने क्यानले जनाएको छ।
यसअघि सम्पन्न दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। नयाँ सिजनको पहिलो खेलमै उपाधिका दुई दाबेदार मानिएका लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने भएपछि एनपीएलको सुरुवात नै रोमाञ्चक बन्ने भएको छ।
