काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले बाइनान्स एपमार्फत क्रिप्टोकरेन्सीको कारोबार गर्नुका साथै अनलाइन सट्टेबाजीसमेत सञ्चालन गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।प्रहरीले गरेको निगरानी तथा प्राविधिक विश्लेषणबाट यादवको बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार भएको देखिएको जनाएको छ। प्रतिडलर १५१ रुपैयाँ ५३ पैसाको विनिमय दरलाई आधार मान्दा उक्त रकम नेपाली रुपैयाँ २ अर्ब १६ करोडभन्दा बढी हुन्छ।
जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजीसम्बन्धी कसुर र दफा २६२ (क )९१० अन्तर्गत अभौतिक मुद्राको प्रयोगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।यस प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताएका छन्।