काठमाडौं । बागमती प्रदेशमा असोज महिनामा भएका सडक दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २८५ जना घाइते भएका छन्।
प्रदेशका १० जिल्लामा एक महिनाको अवधिमा १६३ वटा सडक दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।प्रहरीका अनुसार सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ४०६ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। असोज महिनामा प्रदेशभर विभिन्न प्रकृतिका ४३० वटा अपराधका घटना अभिलेख भएका छन्।प्रहरीको विवरणअनुसार तीमध्ये १४५ वटा जघन्य तथा गम्भीर अपराध, ३० वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध, ११ वटा आर्थिक अपराध र २४४ वटा अन्य प्रकृतिका अपराध रहेका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार अपराध अनुसन्धान तथा नियन्त्रणका क्रममा ३४० जना पक्राउ परेका छन्। त्यस्तै, अदालतको फैसला कार्यान्वयनका क्रममा २७३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ३६५ वर्ष ७ महिना २२ दिन कैद र २ करोड ४५ लाख ३५ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।घरेलु हिंसासम्बन्धी ६६ वटा निवेदन प्रहरीमा परेका थिए। तीमध्ये ४३ वटा मिलापत्रबाट टुङ्गिएका छन् भने ८ वटा अदालतमा पठाइएको छ। तीन जना पीडित सम्पर्कमा नआएको र १२ वटा घटनामा अनुसन्धान भइरहेको प्रहरीको विवरणमा उल्लेख छ।
असोज महिनामा प्रदेशभर १७८ जना महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको विवरण प्राप्त भएको छ। तीमध्ये १२९ जना फेला परेका छन् भने ४९ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। हराएका व्यक्तिको खोजतलासका लागि सम्बन्धित प्रहरी कार्यालयमार्फत अनुसन्धान तथा समन्वय भइरहेको छ।लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले विभिन्न प्रकारका लागुऔषध बरामद गरेको छ। यससम्बन्धी ५१ वटा मुद्दा दर्ता गरी ९६ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ। सोही अवधिमा आत्महत्याका ५४ वटा घटना अभिलेख भएका छन्।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानका क्रममा ४६ लाख ७ हजार ५८ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने तीन जना पक्राउ परेका छन्। अवैध मदिरा नियन्त्रणका क्रममा १५ हजार ७६२ लिटर घरेलु मदिरा र ४ हजार ४०५ लिटर कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा ८१ वटा सवारीसाधन नियन्त्रणमा लिएर जरिवाना गरिएको र यसबाट १८ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीको भनाइ छ।
प्रहरीले असोज महिनामा सडक सुरक्षा, नियमित गस्ती, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण, साइबर अपराध न्यूनीकरण तथा समुदाय र विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका लागि १४५ जना प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ।