काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
बाढीपछि प्रभावित परिवार स्वास्थ्य समस्यासँगै आर्थिक कठिनाइमा समेत पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले यस्तो निर्णय गरेको जनाएको छ।अस्पतालका अनुसार प्रभावित परिवारका सदस्यले एक वर्षसम्म स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन्। यसबाट बाढी प्रभावितलाई उपचारमा सहज पहुँच हुनुका साथै स्वास्थ्य सेवाका लागि लाग्ने आर्थिक भार घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।निःशुल्क सेवा लिन आवश्यक कागजात, प्रक्रिया र अन्य विवरण अस्पतालले छिट्टै सार्वजनिक गर्ने जनाएको छ। प्रभावित परिवारले सेवा कसरी प्राप्त गर्ने भन्ने विषयमा आवश्यक व्यवस्था मिलाएर जानकारी गराइने अस्पतालको भनाइ छ।बाढीपछि प्रभावित समुदायमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालले आफ्नो क्षमताअनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यक्रम सञ्चालन तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने तयारीसमेत गरेको छ।अस्पतालले विपद्बाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको स्वास्थ्य, पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ